विराटनगर महानगरका मेयर र उपमेयरले भने– आम्दानी नभएकाले विकास अघि बढाउन नसक्ने भयौँ

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख र उपप्रमुखले आम्दानी थोरै भएकाले विराटनगरको विकास अघि बढाउन नसक्ने बताएका छन् । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम सम्पन्न गर्न प्रस्तावित बजेट पारित गर्न शनिबार सम्पन्न १० औं नगरसभाको दोस्रो बैठकमा प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले यस्तो बताएका हुन् ।

महानगरको आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास गर्न नसक्ने भन्दै महानगरका प्रमुख नागेश कोइरालाले महानगरसभामा आर्थिक रुपमा सवल भएर मात्र विराटनगरको विकासलाई गति दिने रणनीतिमा लागेको सभाका सदस्यहरूलाई जानकारी गराएका थिए । उपप्रमुख शिल्पा निराला कार्कीले पनि कोइरालालाई समर्थन गरेको प्रमुखको निजी सचिवालयले जनाएको छ ।

“सबै वडालाई धेरैभन्दा धेरै बजेट छुट्याएर समग्र विराटनगरको विकास गरौं भन्ने मेरो इच्छा त कति धेरै छ कति,” कोइरालाले भने, “तर हाम्रो आर्थिक क्षमता छैन । हाम्रो आर्थिक अवस्था कमजोर छ । जबसम्म हामीले आम्दानी  बढाउँदैनौं तबसम्म सोचेजस्तो विकास गर्न सक्दैनौं ।” उनले महानगरको आफ्नो आम्दानी रु. १ अर्ब नहुन्जेलसम्म विराटनगरमा विसकासका कार्यलाई गति दिन नसक्ने नगरसभासमक्ष बताए । भौतिक संरचना निर्माण, खानेपानीको व्यवस्थापन, सरसफाई र डुबान समस्या समाधान गर्न आवश्यक पर्ने रकम दातृ निकायहरूबाट जुटाउन छलफलसमेत सुरु गरेको कोइरालाले बताएका छन् ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले पनि आर्थिक अवस्था बलियो बनाएर मात्र विकास अघि बढाउन सकिने धारणा राखेकी छन् । “करको दायरामा नआउने धेरै छन्, सबैलाई करको दायरामा ल्याउनुपर्छ । हाम्रो आन्तरिक स्रोतलाई बलियो बनाउनुपर्छ । अनि मात्रै हामीले चाहेजस्तो विकास गर्न सक्छौं । नत्र विराटनगरको विकास अहिल्यै अघि बढाउन सकिएला जस्तो छैन्,” कार्कीले भनिन् ।

 

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि तय गरेको वार्षिक नीति तथ कार्यक्रम गर्न प्रस्तावित बजेट पारित भएको छ । आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार