भोजपुरको अलपत्र कावा पुल निर्माणमा चरम वेवास्ता

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । ठेकेदार कम्पनीको लापारबाहिले निर्माणका क्रममा भाँचिएको कावाखोलाको पुल महिनौ वित्दासमेत निर्माण सुरु हुन सकेको छैन । ५ करोड लागतको दक्षिणी हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अलपत्र बनेको हो ।

“४५ मिटर लम्बाई र ६ मिटर चौडाई रहने उक्त पुल निर्माणका क्रममा विचैमा भाँचिएको थियो । डिजाइन अवधि ८० वर्ष र भूकम्प प्रतिरोधी रहने भनिएको उक्त पुल भाँचिएको ८ महिना वित्दापनि वेवास्ता गरिएको छ”

गत मंसिर ११ गते प्रदेश १ सरकारको पहलमा स्विस सरकारको ५ करोड अनुदान सहयोगबाट बनेको उक्त पुलको पुनःनिर्माणमा वेवास्ता देखिएको छ । ०७८ चैत मशान्तसम्म काम सक्ने सर्वपक्षिय निर्णय भएपनि अहिलेसम्म उक्त पुल वेवारिसे अवस्थामै रहेको छ । पुल नहुँदा दक्षिणी भेगका नागरिकहरु जोखिम मोलेरै खोला पार गर्ने गरेका छन् । महिनौ वितिसक्दा पुलको निकासमा कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ । ’काम गर्दा गल्ती हुन्छ । के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला नि । तर पुल भत्किएको यतिका समयसम्म पुल बनाउने कुनै काम सुरु नहुँदा सास्ती बढेको छ ।’ स्थानीय नारायणप्रसाद निरौलाले भने ।
भोजपुर मानेभञ्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने उक्त पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने प्रावधान थियो । तर समयमा सम्पन्न नभएपछि पछि पुनः म्याद थपिएको थियो । निर्माण सामाग्री नै गुणस्तरहीन भएको प्राविधिक अनुगमनले देखाएको छ । ४५ मिटर लम्बाई र ६ मिटर चौडाई रहने उक्त पुल निर्माणका क्रममा विचैमा भाँचिएको थियो । डिजाइन अवधि ८० वर्ष र भूकम्प प्रतिरोधी रहने भनिएको उक्त पुल भाँचिएको ८ महिना वित्दापनि वेवास्ता गरिएको घोरेटारका स्थानीय ईन्द्र थापाले बताए ।
पुल निर्माणले सदरमुकामबाट दक्षिण हुँदै तराईसंग सिधा जोड्नाले सहज पहुँच पुग्ने भएपनि पुलको दुर्दशाले निराशा थपिदिएको उनी सुनाउँछन् । ’यस्तो वर्षातमा खोला तर्नै मुस्किल हुन्छ, दुर्घटना बढ्ने सम्भावना छ, वैकल्पिक मार्ग नहुनाले झनै समस्या थपिएको छ’ उनी भन्छन्, ‘नाफामुखी योजना हुनाले सर्वसाधरण जनताको सपना पनि अधुरै हुन्छ, ठेकेदार कम्पनीको चरम लापारबाहीले भत्किएको पुल निर्माणको कुनै सुरसार छैन’
पुलको निर्माण कार्यलाई चाँडो सुचारु गराउने प्रक्रिया बढाइरहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भने, ’हामीले पुल पुनः निर्माण चाँडो सुरु गर्न भनिरहेका छौँ । उनीहरुले पनि चाँडो थालनी गर्ने वचन दिँदै आएका छन् । पुल नहँुदा दक्षिणी भेगका नागरिकलाई सदरमुकाम धाउन धेरै नै सास्ती भएको छ । पुलको कामलाई गती दिने पहलदारीमा मेरो प्राथमिकता रहनेछ ।’
पिलर खण्ड र आइरन ट्रस्ट गरी फरकफरक टेण्डरमा निर्माणाधिन उक्त पुलको निर्माण कार्यमा केहि कमी आएका कारण भत्किएको हुनसक्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । निर्माण क्रममा भाँचिएको पुलको विषयमा अहिले पनि अनुसन्धान भइरहेको संयोजक चौधरीले बताए । भने, ’पुल भाँचिएपछि यसको पुनः निर्माणमा लागेका छौँ । काम गर्दै जाने क्रममा केही ढिलाई भएको छ । वर्षायाम सुरु भएकाले तत्काल काम सुरु गर्ने अवस्था छैन ।’
प्रादेशिक सडक, पुल आयोजना प्रदेश नं १ का संयोजक सूर्यनारायण चौधरीले आगामी फागुन, चैत महिनासम्ममा पुनः निर्माण सकेर प्रदेश सरकारलाई जिम्मा लगाउने जनाए । उनका अनुसार पुल निर्माण कार्य सकेसम्म चाँडै गर्ने योजना भएपनि प्राविधिक रुपमा केहि ढिलाई भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार