
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनकालागि उच्चस्तरीय आयोग बनाउने विषयमा दलहरूबीच सहमति जुट्न सकेन । सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसदमा गरेको वाचा र सहमति कर्यान्वयन गर्न नसकेको बताए । सत्तापक्षकै उच्चस्तरीय नेताहरूको संलग्नतामाथि छानबिन हुने डरले सरकार आयोग बनाउन तयार नभएको उनको आशय थियो ।
उनले भने- तस्करको जरासम्म पुग्नुपर्छ भन्ने हाम्रो माग हो ।सबै तस्करको पहिचान गरि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हो । यसकालागि आज समिती बन्नुपर्ने थियो बनेन । सत्तापक्षले संसदमा भएको सहमती पालना गरेन ।
तस्करीमा ठूला राजनीति कनेक्सन देखिएका छन् । आज आयोग बन्नुपर्ने थियो बन्न सकेन । यता माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा भएको सहमति अनुसार प्रतिपक्षी दल अगाडि बढ्न नखोजेको आरोप लगाए ।
सदनमा सबै राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताले गरेको सहमति र आज एमाले प्रतिनिधिले राखेका कुरा फरक रहेको उनको भनाइ थियो ।







