
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ‘ट्रेलब्लेजर अफ दी इयर’ घोषित भएकी छन् । बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा पारा खेलबाट विश्वमा नेपालको नाम फैलाएको गौरवसहित मञ्चले यो अवार्डबाट पलेशालाई सम्मानित गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।
सन् १९६४ को टोकियो ओलम्पिकबाट सुरु भएको नेपालको ६ दशक लामो यात्रामा झन्डै १०० खेलाडीले यो खेलकुम्भमा सहभागी भइसके ।
सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दो विधान लामाले कास्य पदक जितेर तहल्का मच्चाए । तर, प्रदर्शन खेलका कारण उनको पदकको आधिकारिक गणना भएन । वैकुण्ठ मानन्धरले चार ओलम्पिक खेलेर इतिहास रचे ।
सन् २००४ को एथेन्स ओलम्पिकमा संगिना वैध्य छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी बनिन् । त्यसलाई पछ्याउँदै बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्ट र पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्न सफल भए । यी उपलब्धि गनिरहँदा ओलम्पिक पदक जित्ने नेपालको सपना भने अधुरै थियो ।
सन् २००४ बाट सुरु भएको पारा ओलम्पिकको इतिहास त झनै छोटो छ । तर, नयाँ इतिहास रच्ने काम भने पारा ओलम्पिक खेलाडीले गर्न सके । पारा ओलम्पिक गेम्सबाट नेपाललाई ऐतिहासिक पदक दिलाउने पात्र हुन्, पलेशा । गतवर्ष पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरीको ५७ केजीमुनि तौलमा कांस्य पदक जितेकी हुन् ।
गृष्मकालीन, शितकालीन ओलम्पिक होस् वा पारा ओलम्पिक, कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडीको कहिले नमेटिने इतिहास नेपाली खेलकुदमा पलेशाको नाममा बनेको छ ।
यसअघि पारा एसियन गेम्समा पनि पलेशाले यस्तै इतिहास रचेकी थिइन् । इतिहासमाथि इतिहास रच्दै नेपाली खेलकुद क्षेत्रमा सुपरस्टारको छवि बनाएकी पलेशाको अबको लक्ष्य हो– पारा ओलम्पिकमा स्वर्ण जित्नु ।
उनको यो सपना साकार होस् भन्ने शुभकामनासहित नेपाली खेलकुदमा सफलताको नयाँ गोरेटो कोर्ने पलेशालाई नेपाल खेलकुद पत्रकार मञ्चले उच्च सम्मान स्वरुप ुट्रेलब्लेजर एथलेटु चुनेको हो ।







