
भोजपुर । लामो समयको पखाईपछि भोजपुर सदरमुकामबासीको खानेपानी संकट टरेको छ । जिल्लाकै एकमात्र ठुलो तिनभंगाले खानेपानी आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकाम लगायतका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनेको हो । वर्षौदेखि खानेपानीको हाहाकार मच्चिदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी हर्षित बनेका छन् ।
यसअघि दैनिक २ लाख लिटरको हाराहारीमा वितरण हुने खानेपानी आपूर्ति बढेर करिब १० लाख लिटर पुगेको छ
धारामा चौबिसै घण्टा पानी आउन थालेपछि बजारबासीमा उत्साह छाएको छ । वर्षौदेखि खानेपानी समस्या भोग्दै आएका सदरमुकाम र आसपास नगरक्षेत्रका स्थानीयबासीको दैनिक जिवनयापन समेत फेरिएको छ । एक ग्यालेन पानीका लागि घण्टौ भिडभाडमा पालो कुर्नुपर्ने सास्ती हटेको भोजपुर नगरपालिका ७, डाँडागाउँकी विष्णु कुमारी राईले सुनाईन् । ‘अब त जतिबेला धारा खोल्यो, खानेपानी धररर आईहाल्छ’ उत्साहित हुँदै उनले थपिन्, ‘वर्षौदेखि खानेपानीको जोहो गर्नुपर्ने सास्ती हटेको छ, घण्टौसम्म भिडभाडमा धाउने काम पनि हुँदैन’
यसअघि खानेपानी समस्याले विशेषगरि विद्यार्थी, गृहिणीलाई बढि मारमा थिए । विगतमा खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको थियो । तर आयोजनाको पानी चैत १७ बाट वितरण भएपछि यी सबै समस्याको निदान भएको स्थानीय कर्ण मोक्तानले बताए । भने, ‘खानेपानी सदरमुकामसम्म आईपुग्नु सपना जस्तै थियो, जताततै खानेपानीको हाहाकार नै थियो, हामीले धेरै सास्ती पायौँ, तर अब यी सबै झन्झट टरेको छ’
कुल ४९ करोड ७८ लाख ९८ हजार लागतमा ल्याईएको उक्त खानेपानी आयोजनाबाट भोजपुर सदरमुकाम, सिद्देश्वर, गुप्तेश्वर, बोखिम र टक्सारका करिब २ हजार २ सय ८० घरधुरीको घरघरमा खानेपानी पुगेको छ । झण्डै ३ वर्षअघि टेम्केमैयुङ गाउँपालिका १, तिम्माको तिनभंगालेबाट खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त मुहानबाट करिब ४० किलोमिटर प्रशारण लाईन र ७६ किलोमिटर वितरण लाईन गरी एकसय १६ किलोमिटर लामो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गरिएको फिल्ड ईन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए ।
यसअघि दैनिक २ लाख लिटरको हाराहारीमा वितरण हुने खानेपानी आपूर्ति बढेर करिब १० लाख लिटर पुगेको छ । जसले सदरमुकाम क्षेत्रका खानेपानी समस्या समाधान गर्न सहज पुगेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष प्रविण सुवालले बताए । बढ्दो सुख्खायामले खानेपानीका मुहानहरु सुक्नाले सदरमुकाममा बर्षेनी खानेपानीको समस्या बढ्ने गरको थियो । आयोजनाको पानीले खानेपानीको समस्या समाधानका साथै खेतबारीमा सिँचाई गर्नलाई पनि सहज पुग्ने उनले बताए । सदरमुकाम र आसपासका क्षेत्रको खानेपानी संकट समाधान गर्न उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत छ ।







