
भोजपुर । एकसय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पर्यटकको आगमनमा बृद्धि भएको हो ।
समुन्दी सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा उकालोओरालो हुँदै फैलिएको उक्त मुन्दुम पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यालोकन देख्न सकिन्छ
टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमानामा पर्ने मुन्दुम ट्रेल पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यले ‘मैयुङडाँडा र हाँसपोखरी’ को सुन्दर स्वाद दिलाउन पैदलमार्गको अवधारणा ल्याईएको थियो । धार्मिक, साँस्कतिक, विविध जातीय महत्व बोक्ने मुन्दुम ट्रेललाई सरकारले पर्यटकीय गन्तव्यमा राखेपछि पर्यटकको आगमन बढेको टेम्केमैयुङ गाउँपालिका नागीका स्थानीय सरोज बस्नेतले बताए । भने, ‘पहिले पर्यटकहरु देखिदैनथे, तर देशविदेशमा हाम्रो पनि पर्यटकीय सम्भावना छ है भन्ने प्रमाण सरकारले दिएपछि आगमन बढेको छ, जिल्लाबासीका लागि यो सुखद खबर हो’
विशेषगरि किँराती संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यले पदमार्गको अवधारणा ल्याईएको थियो । पदमार्ग क्षेत्रमा किँरात राईहरुको बस्ती, भेषभुष, संस्कृतिसंस्कारसंग जोडिने पक्षले गर्दा पदमार्गको नामाकरण किँरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट ल्याईएको खर्कगोठ संरक्षण विकास तदर्थ समितिका अध्यक्ष पावीहाङ राईले बताए । ‘किँरात राईहरुको संस्कारसंस्कृतिसंग जोडिएकाले पदमार्गको नाम मुन्दुम ट्रेल राख्ने निर्णय भयो’ उनले भने, ‘किँरात संस्कृतिलाई जगेर्ना हुने ट्रेलको अवधारण हो, यसलाई बाह्य तथा आन्तरिक पर्यटनसंग किँराती संस्कारविच घनिष्ठता कायम गर्ने हाम्रो सोच हो ।’
सिंगो भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य रुपमा यहाँ टुरिजम हब बनाउने लक्ष्यले २०७४ साल पुष २४ देखि २६ गतेसम्म ३१ दशमलब ५ किलोमिटर लामो उक्त पदमार्गको सर्वेक्षण गरिएको थियो । टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन अन्वेषणका लागि आब ०७४÷७५ मा ७ लाख बजेट बिनियोजित गरेको थियो ।
गाउँपालिकाले चालु आर्थिकवर्ष ०७५÷७६ को चखेवा मेरुङ मैयुङ पर्यटकीय पदमार्ग भौतिक पूर्वाधार निर्माण शिर्षक योजनामा पदमार्गका लागि १९ लाख ४० हजार बजेट छुट्याएको छ । मुन्दुम ट्रेललाई आगामी दिनमा अझ सुव्यवस्थित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न पदमार्गमा होमस्टेहरु, आवश्यक सम्पूर्ण भौतिक संरचनाहरुको निर्माण गरिने योजना रहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।
पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाईन जोन’ (धेरै उचाई र धैरै होचाई नभएको) सन्तुलित हावापानी भएको यो पदमार्ग आगन्तुक पर्यटकका लागि लेक लाग्ने समस्या नहुने गतवर्षको स्थलगत अध्ययनले देखाएको छ ।
सुचीकृतमा परेपछि अब उक्त पर्यटकीय गन्तव्यलाई व्यवस्थित र विकसित गर्न सकेको खण्डमा सिंगो जिल्लालाई नै आन्तरिक तथा बाह्य पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्णका स्थानीय हेमन्त मुकारुङ बताउँछन् । भन्छन्, ‘सरकारले सुचीकृतमा पारेको यो पदमार्ग हामी सिंगो जिल्लाबासीका लागि गौरवको विषय हो । यसलाई व्यवस्थित र विकास गर्न सकेमा जिल्लाको पर्यटनलाई व्यावसायीकरण गर्न सकिन्छ । सिंगो जिल्लालाई नै पर्यटनबाट आत्मनिर्भर बनाउन सकिन्छ ।’
उक्त टेम्केडाँडा (मुन्दुम पदमार्ग) समुन्दी सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा उकालोओरालो हुँदै फैलिएकाले पर्यटकलाई डाँडैडाँडाको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यालोकन गर्न सक्नेछन् ।
‘मुन्दुम ट्रेल’ को प्रबद्र्धन सुरु
एकसय नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत भोजपुरको टेम्केडाँडा मुन्दुम ट्रेलको काम सुरु गरिएको छ । पर्यटन प्रबद्र्धन गर्ने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकाको पाँचधारेबाट चखेवाभञ्ज्याङ हुँदै अग्लो चुचुरो सिलिचुङ डाँडासम्मको उक्त पदमार्ग निर्माण काम थालिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ पर्यटकीय सुविधालाई ध्यानमा राखेर आवश्यक संरचनासहित पदमार्गको निर्माण काम थालिएको हो । निर्माणाधिन पदमार्गमा सिमेन्ट, फलाम, ग्रिल सामाग्रीको प्रयोगविनै स्थानीयस्तरमा उपलब्ध श्रोतसाधनकै प्रयोग गरेर प्राकृतिक स्वरुप दिईने पदमार्ग निर्माण समितिका अध्यक्ष पावीहाङ राईले बताए । ‘ट्रेकिङका लागि आउने पर्यटकको सहजताको लागि नै आवश्यक संरचनासहितको पदमार्गको काम थालिएको हो’ उनले भने, ‘प्राकृतिक स्वरुपलाई यथावत राख्दै स्थानीय श्रोत साधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम सुरु भएको छ’ यसका साथै सो पदमार्गमा विभिन्न जानकारीमूलक बोर्डहरुसमेत राखिने उनले बताए ।
२०७९ सालभित्र सम्पन्न हुनेगरि ५८ किलोमिटर लामो दुरीको उक्त पदमार्गको पहिलो चरण अन्र्तगत १२ किलोमिटर दुरीको पदमार्ग काम थालिएको छ । कुल २ करोड लागतमध्ये प्रदेश नं १ सरकारको ३५ प्रतिशत, स्वीस सरकारको ३५ प्रतिशत र टेम्केमैयुङ गाउँपालिकाको ३० प्रतिशत गरी ९९ लाख २२ हजार सातसय ८४ रुपैँया लागतमा पहिलो चरणको काम थालिएको हो । यसपछि दोश्रो चरण अन्र्तगत पदमार्गमा चिया घरा, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणका साथै पर्यटकलाई खाना बस्ने सुविधा व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमाना हुँदै निर्माण हुने पदमार्गमा किँराती संस्कृतिको सम्बद्र्धन गर्ने उद्देश्यले पदमार्गको अवधारणा ल्याईएको स्थानीय सरोकारवाला छिवाबुङबाली राईले बताए । भने, ‘किँरात संस्कृतिलाई जगेर्ना हुने ट्रेलको अवधारण हो, यसलाई बाह्य तथा आन्तरिक पर्यटनसंग किँराती संस्कारविच घनिष्ठता कायम गर्ने हाम्रो सोच हो’
टुरिजम हब बनाउने लक्ष्यले २०७४ साल पुष २४ देखि २६ गतेसम्म ३१ दशमलब ५ किलोमिटर लामो पदमार्गको सर्वेक्षण गरिएको थियो । पदमार्गलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर सिंगो गाउँपालिकाकै आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यले काम सुरु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राई सुनाउँछन् । राईले भने, ‘गाउँपालिकाको प्रच्यूर पर्यटकीय सम्भावनालाई पहिचान गरेरै गतिविधी बढाएका छौँ, गाउँपालिकालाई प्रदेश १ को पर्यटकिय क्षेत्रको विकासमा जुटेका छौँ’







