जोखिमपूर्ण तयारी, नाम मात्रैका आईशोलेसन र क्वारेन्टाईन

  सिलिचुङ सम्बाददाता


जिल्ला अस्पताल भोजपुरको आईसोलेसन कक्ष ।

 

भोजपुर । कोभिड १९ को दोश्रो लहर चलिरहँदा भोजपुर पनि संक्रमणको उच्च जोखिममा छ । यो स्थितीमा जिल्लागत र स्थानीय तहगत तयारी भने फितलो छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनविनै आईशोलेसन बनाईएका छन् । जसले सम्भावित खतरालाई झन निम्त्याएको छ ।
स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय भोजपुर र अन्य अस्पतालले कोरोना संक्रमण हुन नदिन सतर्कता अपनाए । तर स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरण अभावपूर्ण तयारी भएको छ । पर्याप्त उचित उपकरण र रोकथामका औषधी नभएपछि जोखिम मोलेरै आईसोलेसन र क्वारेन्टाईनको तयारी गरिएको छ । सम्भावित संक्रमणको पूर्व तयारी खासै प्रभावकारी हुन नसकेको जनगुनासो बढेको छ ।

शंकास्पद विरामीलाई आईसोलेसन कक्षमा राखिने व्यवस्थापन गरिएपनि तत्काल रोकथामका लागि धेरैजसो कोभिड अस्पतालमा आवश्यक भेन्टिलेटर, पिपिई, कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) जस्ता उपकरण र औषधी अभावले झन समस्या थपिएको छ 

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सतर्कता अपनाईरहेको बताईरहँँदा सरकारले पर्याप्त उपकरणहरुको व्यवस्था गर्न नसकेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । विरामीसंग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न कुनै प्रयास नै नभएको जिल्ला अस्पताल भोजपुरका निमित्त प्रमुख डा. अमितेशराज पाण्डेले बताए ।
‘सामान्य ज्वरो वा रुघाँखोकीको विरामी अस्पताल आयो भने स्वास्थ्यकर्मी नै नजिक जानबाट डराउनुपर्ने अवस्था छ’ उनले भने, ‘कोरोना र सामान्य ज्वरो र रुघाखोकीको लक्षण उस्तै भएकाले पनि त्यस्ता विरामी अस्पताल आउने वित्तिकै आईसोलेसनमा राख्नुपर्ने अवस्था छ’ आइसोलेसनमा राखेकाहरुको ल्याव परिक्षण पनि नहुने भएकाले अवस्था गम्भिर रहेको उनको अनुमान छ ।
आईसोलेसन राखिएका कतिपय स्थानीय तहका कोभिड अस्पतालहरुमा कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) पनि छैन । स्याम्पल लिन चिकित्सकले लगाउनुपर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) व्यवस्थापन गरिएको सिनियर अहेब राजेन्द्र राउतले बताए । भने, ‘अहिलेसम्म कोहि विरामीहरु या अन्य नागरीक सम्पर्कमा आएका छैनन्, यदि आयो भने प्रोटेक्टिभ केयरविना चिकित्सकले विरामीको स्याम्पल लिन पनि मान्दैनन्’ भविष्यमा संक्रमितको स्याम्पल लिन समेत चुनौती हुने उनले बताए ।
आईसोलेसन र क्वारेन्टाईन राखिएपनि स्वास्थ्य चिकित्सकलाई नै पिपिई, थर्मोलोगन, सर्जिकल मास्क र सेनिटाईजर नै पर्याप्त नहुँदा विरामी आए के गर्ने भन्ने अन्योलता सिर्जना भएको छ । शंकास्पद विरामीलाई आईसोलेसन कक्षमा राखिने व्यवस्थापन गरिएपनि तत्काल रोकथामका लागि धेरैजसो कोभिड अस्पतालमा आवश्यक भेन्टिलेटर, पिपिई, कोरोनाको स्याम्पल पठाउने (भिपी क्यारियर) जस्ता उपकरण र औषधी अभावले झन समस्या थपिएको चिकित्सक रचना श्रेष्ठले सुनाईन् ।
सतर्कता अपनाउने भन्दै स्थानीय तहहरुले सचेतनाका कामसंगै ‘हेल्थ डेक्स’ स्थापना गरेका छन् । स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र बाह्य आगन्तुक यात्रुहरुलाई कोरोनाको जोखिम हुने भन्दै प्रवेश निषेधाज्ञा गरेका छन् । टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भने, ‘संक्रमणको जोखिम भए आवश्यक स्वास्थ्य व्यवस्था गरिनेछ, तत्कालका लागि मुख्य सिमाक्षेत्रमा प्रवेश निषेध गरेका छाँै’
स्थानीय तहहरुले सञ्चालन गरेको हेल्थ डेक्समा सेनिटाईजार, मास्क, थर्मलगनसमेत पर्याप्त छैन । तहहरुले संक्रमण फैलिए उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुबाहेक अरु विकल्प नभएको भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताए । ‘कसैलाई कोरोनाको शंका गरिएमा प्रादेशिक अस्पतालमा रिफर गर्ने भन्दा हामीसंग अरु उपाय छैन’ आलेले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार