
काठमाडौं। विश्वका लोकप्रिय फुटवल लिगहरुमध्येको एक युरोकपको १६ औँ संस्करण चलिरहेको छ। अर्कोतिर दक्षिण अमेरिकी देशहरुको फुटबल लिग कोपा अमेरिका वा कोन्मेबोल अमेरिका कपको ४७ औँ संस्करणको खेल पनि भइरहेको छ। दक्षिण अमेरिकी फुटबल संघ कोल्मेबोलले संचालन गर्ने दक्षिण अमेरिकी देशहरुको प्रतियोगिता कोपा अमेरिका र युरोपयिन फुटबल संघ युइएफएले संचालन गर्ने युरोकप नेपालमा पनि लोकप्रिय छ। अन्तर्राष्ट्रिय फुटबलमा दसिक्षण अमेरिकी र युरोपेली देशहरुको वर्चश्व रहेकाले पनि यी लिगहरु विश्वभरी नै लोकप्रिय छन् ।
कोरोना महामारीले अस्तव्यस्त बनाएको दैनिकी र धु्रवीकृत राष्ट्रिय राजनीतिको अन्यौलले निराश बनाएको युवापुस्तालाई अहिले यी प्रतियोगिताहरुले केही मन भुलाउने बाटो दिएका छन् । सीमित स्रोत साधनमा फुटबल खेलिरहेका नेपाली राष्ट्रिय खेलाडीहरुले उल्लेखनीय अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेपनि नेपालमा फुटबलको क्रेज भने उत्साहजनक छ।
विद्यार्थी, कर्मचारी, नेता, प्रहरी, पत्रकारलगायत विभिन्न क्षेत्रमा अवद्ध मानिसहरु आफ्नो कामको फुर्सदको समय मात्रै होइन कहिलेकाहीँ ठूला प्रतियोगिता भएका बेला कामलाई थाती राखेर भएपनि यी प्रतियोगिता हेर्छन्। राजनीतिक रुपमा सधैं व्यस्त रहने राजनीतिक दलका नेताहरु पनि फुटबलमा रुची राख्छन्।
नेकपा एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भन्छन् ‘म फुटबल खेल हेर्ने गर्छु। अहिले युरोकप र कोपा अमेरिका दुवै खेल हेर्छुु। म खेलाडीमा मेस्सीको र राष्ट्रिय टिममा अर्जेन्टिनाको फ्यान हुँ। विश्व फुटबलका उत्कृष्ट टिमहरु अर्जेन्टिना र ब्राजिल कोपा अमेरिकामा खेलिरहेकोले कोपा अमेरिका पनि हेरिरहेको छु।’
नेम्वाङका अनुसार फुटबलको सन्दर्भमा उनको घरमा बहुदलीय लोकतन्त्र छ। उनका छोरा लिभरपुलको समर्थक, उनी मेस्सी र बार्सिलोनाको समर्थक, श्रीमती ब्राजील र नेमारको समर्थक। त्यसैले एक नम्बर बार्सिलोना, राष्ट्रिय टिममा अर्जेन्टिना, खेलाडीमा मेस्सी । त्यसपछि दोस्रो तेस्रोमा ब्राजिल र लिभरपुल भनेर घरमा मिलाउने उनी बताउँछन् ।
उनले भने ‘अहिले म यो प्रतियोगिता उत्साहका साथ हेरिरहेको छु । अर्जेन्टिना क्वार्टर फाइनलमा पुग्यो। युरो कप राति हुन्छ। कोपा अमेरिका समयमै छ। म बिहान पाँच बजे उठ्ने गर्छु। फुटबलमा साह्रै मूल्य मान्यता हुन्छ। त्यही मूल्य मान्यतामा मेस्सी पनि चल्छन्। त्यसैले मैले उनलाई मन पराएको हो। हाम्रो राजनीतिमा पनि त्यस्तै मूल्य मान्यता हुनुपर्छ ।’
एमाले नेता तथा पूर्वमन्त्री गोकर्णराज विष्टलाई पुराना ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिन्हो मन पर्छ। ‘अहिले उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि उनको पुरानो खेलहरु मन पर्छ,’ उनले भने। बिष्टलाई फुटबल मन परेपनि अहिले राजनीतिक व्यस्तताका कारण युरोकप र कोपा अमेरिकाको सबै खेल हेर्न भ्याएका छैनन्। उनको बुझाइमा ‘फुटबल खेल एकदमै स्वस्थ प्रतिस्पर्धा हो।’
कांग्रेस नेता तथा पूर्वमन्त्री मिन विश्वकर्मा पनि फुटवलको एकदमै पारखी हुन्। राजनीतिक व्यस्तताको बावजुद पनि फुर्सदको समय निकालेर फुटबल हेर्ने बताउँछन् । ‘अहिले चलिरहेको कोपा अमेरिका र युरोकप दुबै प्रतियोगिताहरु हेरिरहेको छु’ उनले भने। युरोकपमा फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेनलाई उनी उपाधिको दावेदार मान्छन्। ‘सबै टिम उत्कृष्ट लागेपनि फ्रान्सको खेल मन पर्छ र सोही टिमले उपाधि जितोस् भन्ने लाग्छ’ उनले भने।
टिममा फ्रान्स मन परेपनि खेलाडी भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो एकदमै मन पर्ने उनले बताए। कोपा अमेरिकामा भने ब्राजिलको खेल मनपर्ने बाताए। ‘विश्वप्रसिद्ध महान् खेलाडीको इतिहास बोकेको देश भएर पनि होला र खेलाडीहरुको खेल्ने रणनीति अन्य मुलुकको भन्दा फरक भएर होला उक्त देशको खेल मन पर्छ’ उनले भने।
यहाँको नजरमा फुटवल के हो ? भन्ने प्रश्नमा उनले भने, ‘खेल र संगीत भनेको मानव जीवनको महत्वपूर्ण आवश्यक विधा हो । संगीतले मन र मस्तिष्क स्वच्छ राख्छ भने फुटवलले शारीरिक स्वच्छता र तन्दुरुस्तता राख्छ ।’ त्यसकारण फुटवल खेल्नु स्वास्थ्यको दृष्टिकोणले आफैमा राम्रो हो भने हेर्नुले पनि तनाव हटाइ मनोरञ्जन र स्फुर्ती पाउने उनको तर्क छ।







