मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रले गर्‍यो प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर : सोमबार बसेको प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो ।

 

बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भन्दै गाली गरेका थिए ।

 

मन्त्रीले आत्मा आलोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रका सांसदले उभिएर सदन अवरुद्ध गरेका हुन् । सदन चल्न नदिएपछि सभामुख प्रदिपकुमार भण्डारीले माओवादीलाई बोल्ने समय दिएका थिए ।

 

सो क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले सदनको रेकर्डबाट मन्त्रीको अभिव्यक्ति हटाउन पनि माग गरेका छन् । उनले मन्त्रीले माफि नमागे सम्म सदन चल्न नदिने बताए ।

 

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार सम्मका लागि स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार