
बुधबार दल दर्ताको प्रमाणपत्र पाएका माधवकुमार नेपालले बिहीबार बुद्धनगरमा पत्रकार सम्मेलन आयोजना गरे।
पत्रकार सम्मेलनको समय तोकिएको थियो– २ बजे। तर, उनी २ नबज्दै त्यहाँ पुगे। केहीबेर वरिपरिका नेता र कार्यकर्तालाई नियाले र बसे।
एकैछिनमा मानिसहरुको संख्या ह्वात्तै बढ्यो। सोफामा बसेका नेपाल बेलाबेला मोबाइल हेरिरहेका थिए, फोन उठाइरहेका थिए।
एकैछिनपछि पत्रकार सम्मेलन सुरु भयो। उद्घोषण गरिरहेका गंगालाल तुलाधरले उनलाई बोल्न समय दिए।
नेता नेपालले दुःख गरेर यहाँसम्म ल्याएको एमालेबाट विद्रोह गर्न बाध्य भएको बताउँदै त्यसको कारण खोले।
पार्टीमा आफूहरू तिरस्कृत भएपछि विद्रोह गर्न बाध्य भएको उनको भनाइ थियो। माधव नेपाल तिनै नेता हुन्, जसले २०३२ सालमा नेकपा कोअर्डिनेसन केन्द्र बनाएका थिए। त्यही पार्टीलाई २०४७ सालमा नेकपा एमाले बनाइएको स्मरण पनि नेपालले गरे।
संयोग कस्तो भने कोअर्डिनेसन केन्द्रका संस्थापक नेताहरु अहिले नेपालसँगै छन्। संस्थापकमध्ये एक झलनाथ खनाल भारतमा उपचाररत छन्। त्यसैले उनी पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन्। अर्का संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपालले बनाएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मै आवद्ध भएका छन्।
पत्रकार सम्मेलनमा नेपालको बायाँपट्टि उनै न्यौपाने थिए भने दायाँपट्टि बसेका थिए २०३५ सालदेखि कोअर्डिनेसन केन्द्रमा जोडिएका बेदुराम भुसाल।
नेता नेपालले केहीबेर कम्युनिस्ट आन्दोलनमा खेपेको आरोह अवरोहको बेलिविस्तार लगाए। एमाले विभाजनको औचित्य साबित गर्न उनी फेरि विगततिर फर्किए।
२०१४ सालमा कम्युनिस्ट पार्टीका महासचिव बनेका केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्दा पुष्पलालले विद्रोह गरेर अघि बढेको सम्झिए।
‘त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए। केही त्यसैमा विलीन भए,’ अध्यक्ष नेपालले भने, ‘पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो। पुष्पलालले विद्रोह गरेको पार्टीमा हामी धेरै थियौँ। हामीले पनि विद्रोह गरेर नयाँ पार्टी बनाएका थियौँ।’
उनको नयाँ पार्टीले गरिखान सक्दैन कि भन्ने आशंका प्रकट भइरहेका बेला अध्यक्ष नेपालले पुष्पलालको दृष्टान्त अघि सारेका हुन्।
नयाँ पार्टी गठन गर्दा त्यसबेला पनि चुनौती खेपेको र अहिले पनि त्यो सामना गर्न तयार रहेको उनको भनाइ थियो।
‘यस्ता चुनौती पटक–पटक सामना गरेका छौँ। बाधा अवरोध पन्छाएका छौँ। अहिले पनि त्यस्तै अवरोध छ,’ नेपालले नयाँ पार्टीको भविष्यबारे भने, ‘राजतन्त्र ढाल्न सकिँदैन भन्नेले नयाँ पार्टीले चल्दैन भन्दैछन्।’
यद्यपि नेपालले गठन गरेको पार्टीमा एमालेका चर्चित अनुहार थोरै छन्। नेपाल पक्षमा रहेका स्थायी समितिका नौ जनाले अन्तिम समयमा उनको साथ छाडे।
नेता जगन्नाथ खतिवडाले नयाँ पार्टीमा रहेका नेताहरुको वर्गीकरण यसरी गरे– ‘माधव, झलनाथ, मुकुन्द र प्रमेश हमाललाई पहिलो पुस्ता वा हजुरबा पुस्ता मानौँ। बेदुराम, राजेन्द्र पाण्डेलाई दोस्रो पुस्ता मान्न सकिन्छ। उहाँहहरुको उमेर, इतिहास र योगदानलाई हेर्दा। दोस्रो पुस्ताकै कान्छो लाइनमा विजय, प्रकाश ज्वाला लगायतका नेताहरु छन्। उनीहरु सुरुदेखि पार्टीमा जोडिएर काम गरेका हुन्।’
‘पहिलो पुस्ताको इतिहास, राजनीतिक अनुभव, आदर्श राजनीतिक छवि अनि दोस्रो र तेस्रो पुस्ताको उर्जा भरिएको हुनाले यो पार्टीको भविष्य उज्वल छ,’ उनले नेपालखबरसँग भने।
‘विचार निर्माणको अनुभव, पार्टी सञ्चालनको अनुभव, विधि, पद्धति र कार्यशैली असल, अनुशासित तथा सामूहिकता सहित अगाडि बढाउन सक्ने सांगठनिक खुबी भएका नेता हामीसँग छन्,’ उनले स्पष्ट पारे।
एकीकृत समाजवादी पार्टीलाई ६० कटेका नेताको अनुभव र युवाहरुको जोसले सफल बनाउने बताउँछन् नेता बेदुराम भुसाल।
कोर्डिनेसन केन्द्रदेखि एमालेसम्मलाई सांगठनिक रुपमा सफल बनाएको, गाउँ तहसम्म संगठन सञ्जाल फिँजाएको अनुभव आफूहरुसँग रहेको उनको भनाइ छ।
‘हाम्रो नयाँ पार्टी ६० कटेका नेताको अनुभव र युवाको जोसले अगाडि बढ्छ,’ भुसालले भने, ‘यो पार्टीलाई हामी गाउँ र वडा कमिटीसम्म पुर्याउँछौं र जुरुक्क उठ्नेछौँ।’
नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओली जुवाडे शैलीको नेता भएकाले एमालेको भविष्य नभएको बताए।
‘एमाले बनाएको माधव नेपालले हो। केपी ओली त जुवाडे हुन्, जुवाडेले कहाँ लगेर होमे एमालेलाई, कुन अवस्थामा पुर्याए?’ खतिवडाले भने।
अध्यक्ष नेपालका अनुसार उनको पार्टीको संरचना बहुपदीय हुनेछ। अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित १७ पदाधिकारीको व्यवस्था हुनेछ।
निर्वाचन आयोगमा दल दर्ताका लागि पेस गरेको नामावली अनुसार केन्द्रीय कमिटी ९५ सदस्यीय छ। अहिले भने सो पार्टीमा अध्यक्ष नेपालसहित, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र बेदुराम भुसाल रहेको स्थायी कमिटी बनाइएको छ। छिट्टै संख्या थप गर्ने तयारी रहेको नेता नेपालले जानकारी दिए।
नेपालले नयाँ पार्टीको दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगबाट लिएका छन्। अब छिट्टै राष्ट्रिय भेला गरिने भुसालले बताए।
‘अब हामीले पार्टीका गतिविधिलाई देशव्यापी चलाउनुपर्ने हुन्छ। त्यही भएर अब छिट्टै राष्ट्रिय भेलाको आयोजना गर्नेछौँ, त्यसको छलफल सुरु भएको छ,’ भुसालले भने।
२०७७ चैत ४ र ५ गते पनि नेपाल समूहले आफू पक्षीय राष्ट्रिय भेला आयोजना गरेको थियो। त्यही भेलापछि नयाँ पार्टी गठनका लागि नेपाल हौसिएका हुन्।
उनले त्यसबारे भने, ‘हामीले पहिलो विद्रोहको बिगुल चैत ४ र ५ गते राष्ट्रिय भेलाबाट फुकिसकेका छौँ। त्यसबेला हामीसँग भएका केही साथीहरु थाके। तर हामी थाक्दैनौँ। त्यही भावनाका साथ हामी लाग्यौँ। हामीले देशभर संगठन बनायौँ। केही सहयोद्धाले छाडे पनि हाम्रो यात्रा अघि बढिरहन्छ।’
उनले सुरुमै पार्टी खोल्न दबाब भए पनि केपी ओली सुध्रिने आशमा कुरेर बसेको पनि बताए।
‘त्यही बेला खोल्न दबाब थियो। तर, जनताबाट निर्वाचित भएका, संघीय संसद्, नगर र गाउँ, वडाका कार्यकर्ताको भविष्य सोच्नुपर्ने थियो,’ उनले भने, ‘त्यहीकारण त्यसबेला खोलेनौँ। ओली पनि सुध्रिने आश थियो। अहिले हामीलाई छाड्ने साथीहरुले विभिन्न पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। उनीहरु पनि आउनेछन् पक्कै।’







