सुदूरपश्चिममा शक्ति गुमाउँदै भीम रावल

शेरबहादुर कुँवर अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद हुन्। नेकपा एमाले विभाजन हुँदा उनी माधव कुमार नेपाललाई साथ दिएर नेकपा एकीकृत समाजवादीतिर लागेका छन्।

 

बुधवार निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा उनले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका थिए।

कुँवरको यो कदमले रावललाई गृह जिल्लामै झट्का लागेको छ। नेकपा एकीकृत समाजवादीमा लागेका कुँवर रावलका विश्वासपात्र मानिन्थे। कुँवर एमाले अछामका अध्यक्ष पनि थिए।

 

नेपाल समूहमा लागेको भन्दै गत चैत्र २० गते ओली पक्षले उनलाई हटाएर चन्द्र बोहोरालाई अछामको अध्यक्ष बनाएको थियो। पछि रावलले नेपाल समूहको समानान्तर कमिटी विस्तार गर्दा उनलाई अछामको अध्यक्ष बनाएका थिए।

 

सुरुवातदेखि नै कुँवर रावलको पक्षमा थिए। तर, नेकपा एमाले फुटमा रावलले आफूनिकट कुँवरलाई सँगै राख्न सकेनन्।

 

रावलको साथ छोडेर कुँवर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। आफूनिकटलाई एमालेमा राख्न नसकेकाले रावललाई गृह जिल्लामै धक्का लागेको हो।

 

कुँवरको पक्षमा अछाममा राम्रो जनमत रहेको नेताहरु बताउँछन्। कुँवरले मात्रै होइन, रावलका विश्वासपात्र मानिने अन्य जिल्लाका नेताहरुले साथ छोडेकाले शक्ति क्षयीकरण भइरहेको नेताहरु बताउँछन्।

 

‘हिजोका दिनमा प्रदेशमा भीम रावलकै दबदबा थियो। अब त्यो अवस्था नरहने देखिन्छ,’ एमाले छोडेका एक नेताले भने, ‘हामी पनि उहाँ र माधव कमरेडलाई नै नेता मानेर हिँडेका थियौँ। उहाँ (रावल) ले माधव कमरेडलाई धोका दिनुभयो, हामीले त्यसो गर्न सकेनौँ।’

 

एमाले स्थायी कमिटी बैठकले एकता कार्यदलको १० बुँदे सहमति कार्यान्वयन र पार्टीका हरेक तहका संरचनालाई २०७५ जेठ २ पुगेकै अवस्थामा फर्काउने निर्णय गरेपछि रावलसहित मध्यमार्गी भूमिकाका १० नेता एमालेमै फर्किएका छन्।

 

एमालेको फुटका सुदूरपश्चिममा नेता रावलले पनि आफूनिकट नेताहरु धमाधम गुमाइरहेका छन्।

गत चैत्र अन्तिम साता रावलको संयोजकत्वमा गठित नेपाल समूहको समानान्तर जिल्ला कमिटीका ५ अध्यक्षले उनको साथ छोडेका छन्।

 

सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि रावलका विश्वास पात्रमध्ये एक हुन्। तर एमाले फुटपछि उनले पनि भीम रावलको साथ छोडेका छन्।

 

रावलनिकट रहेका उनी नेकपा एकीकृत समाजवादीमा लागेका छन्। प्रदेश सभामा सोडारीको बलियो पकड छ। एमाले कैलाली अध्यक्षसमेत रहेका उनलाई चैत्र २० मा ओली पक्षले हटाएको थियो। पछि रावलले उनलाई नेपाल समूहको समानान्तर कमिटीको अध्यक्ष बनाएका थिए।

 

यता एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सांसद तारालामा तामाङले पनि रावलको साथ छाडेका छन्। रावलनिकट तामाङ नेकपा एकीकृत समाजवादीमा खुलेका छन्। उनी एकीकृत समाजवादीको काठमाडाै‌ं भेलामा सहभागी भए।

नेपाल समूहमा रहेकाले ओली पक्षले तामाङलाई पनि कञ्चनपुर अध्यक्षबाट हटाएको थियो। तर रावलकै पहलमा उनी नेपाल समूहको समानान्तर कमिटीका अध्यक्ष बनेका थिए।

 

यस्तै डडेल्धुराका अध्यक्ष डा. तारा जोशी पनि नेकपा एकीकृत समाजवादीमै खुल्ने मनस्थितिमा छन्।  सुरुवातदेखि नै नेपाललाई साथ दिएकाले अब पनि उतै जाने सम्भावना बढि रहेको डा. तारा जोशीले बताए।

 

नेपालनिकट उनलाई पनि ओली पक्षले अध्यक्षबाट हटाएको थियो। पछि रावलले डडेल्धुराको समानान्तर कमिटी अध्यक्ष चयन गरेका थिए।

यता नेपालनिकट बझाङका अध्यक्ष दिल बहादुर सिंह पनि नेकपा एकीकृत समाजवादीतर्फ खुल्ने तयारीमा छन्।

उनी ओली समूहले बनाएका अध्यक्ष अफिलाल ओखेडाको अध्यक्षतामा बसेको बैठकमा अनुपस्थित थिए। सिंहलाई पनि अध्यक्षबाट हटाइएको थियो। तर रावलको सक्रियतामा नेपाल समूहको समानान्तर कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

 

सुदूरपश्चिम प्रदेश सभामा रावलको पकड बलियो छ। एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार ढाल्न खोजेको थियो। तर नेपाल समूहले त्यो सफल हुन दिएन। त्यसका लागि भीम रावल नै सक्रिय भएका थिए।

 

माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाल समूहले विश्वासको मत दिएर सरकार जोगाएका थिए।

नेपाल समूहमा आक्रमक शैलीमा लागेका रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई असफल पारेका थिए। र पछि नेपाल–ओली समूहबीच कारबाहीको दोहोरी नै चलेको थियो।

 

रावलको शक्ति बलियो भएकाले उनको चालकै वरिपरि सुदूरपश्चिमको राजनीति घुम्ने गरेको नेताहरुको बुझाइ छ।

यद्यपि एमाले विभाजनले रावलले अब त्यो शक्ति गुमाउन सक्ने एमालेका एक नेताको दाबी छ। ‘तत्कालीन नेपाल समूहनिकट ४/५ सांसदबाहेक अरु सबै हामीसँग आउँछन्। बहुमत सांसद हाम्रै पक्षमा छन्,’ ती नेताले भने, ‘प्रतिगमन, निरंकुशता लाद्ने काम गर्नेलाई सहयोग गर्छन् भन्ने मलाई लाग्दैन।’

 

सुदूरपश्चिममा सभामुखसहित एमालेका २५ सांसद छन्। तीमध्ये नेपाल समूहमा १७ र ओली समूहमा ७ जना खुलेका थिए। नेपाल समूहका ४ जना सांसद अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन्। अन्य १३ जना अझै अन्योलमा छन्।

 

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्टले पनि रावलको साथ छोडेका छन्। उनीहरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य चयन भएका छन्।

 

दल विभाजनसम्बन्धी अध्यादेशले पार्टी रोज्न २१ दिनको समयसीमा तोकेकोले अहिले नै को कता भनेर एकिन गर्न गाह्रो रहेको एक सांसदले बताए।

 

‘कोही कोही नेता/सांसदहरु खुलेका छन् तर अझै सबै खुलेका छैनन्,’ ती सांसदले भने, ‘अब २/३ दिनभित्रै दिनमा को कता लाग्छन्? थाहा हुन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार