
सामान्य घरपरिवारमा हुर्केका केई कोमुरोलाई जापानी पूर्वराजकुमारी माकोले एउटा विश्वविद्यालयमा पहिलोपटक भेटेकी थिइन्।
त्योसँगै राजकुमारीको प्रेम सामान्य युवासँग अंकुराउन सुरु भएको थियो। उनैसँग दाम्पत्य सम्बन्ध गाँस्न भने माकोलाई ९ वर्ष कुर्नुपर्यो।
यति लामो समयपछि मंगलबार उनीहरुको विवाह भयो– धूमधामशून्य, चर्को सार्वजनिक आलोचना र एउटा पत्रकार सम्मेलनका बीच।
विवाहपछि ३० वर्षीया माकोले टोक्यो होटलमा १० मिनेट सञ्चारमाध्यमलाई समय दिइन्। छोटो पत्रकार सम्मेलनमा उनले विवाहको प्रतिरक्षा गरिन्।
उनले आफ्नो श्रीमानको ठाउँमा अरु कसैलाई राख्न नसकिने बताउँदै दुवै जना विवादले जेलिएको तीतो विगत बिर्सेर अघि बढ्ने उल्लेख गरिन्।
पछाडि फर्केर हेर्ने हो भने त्यो विवादभित्र उन्मादपूर्ण ट्याब्लोइड कभरेजदेखि कोमुरोको आमासँगको आर्थिक झगडासम्मका कुरा अटाएका छन्।
‘मेरो लागि केई–सान एक अमूल्य व्यक्ति हुन्। हाम्रा लागि हाम्रो विवाह सँगै रहेर हाम्रो मुटु आह्लादित पार्ने एउटा अत्यावश्यक चाहना थियो’, टिभीमा देखाइएको पत्रकारसम्मेलनमा माकोले पति केई र उनीबारे भनिन्।
कोमुरोले पनि प्रतिक्रिया दिइहाले, ‘म माकोलाई प्रेम गर्छु। मेरो यो एकबारको जुनी म जसलाई प्रेम गर्छु उसैसँग बिताउन चाहन्छु।’
सुख र दुःखको क्षणमा खुसी र उत्साह बाँड्दै माकोसँगै रहने उनले आशा व्यक्त गरे। ‘माको–सानसँग न्यानो परिवार हुने आशा गरेको छु, र म उनलाई निरन्तर साथ दिइरहनेछु’, उनले थपे।
आमा र उनका पूर्वप्रेमीबीच आर्थिक लफडा छ। जोबाट उनकी आमाले ४० लाख येन (३५ हजार डलर) ऋण लिएकी थिइन्। त्यही रकम कोमुरोको विश्वविद्यालय शिक्षामा खर्च भएको थियो। सम्भव भएसम्मका उपाय लगाएर यो लफडालाई समाधान गर्ने कोमुरोले बताए।
यो जोडी मंगलबार बिहानै आधिकारिक रुपमा विवाहित बनेको हो। कानुनी कागजातको परिपूर्णतापछि दम्पती बनेसँगै माकोको राजखानदानी परिवारको दर्जा गुमेको छ।
सन् २०१७ को सेप्टेम्बरमा उनीहरुको इन्गेजमेन्टसँगै बाहिरिएका झूटा रिपोर्टहरुले मानसिक दिग्दारी थपेको बताउँछिन् माको।
अघिल्लो महिनाको सुरुतिर जापानको साम्राज्यिक परिवारको मेडिकल टोलीले नै भनेको थियो– माकोलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डरको उपचार गरिएको थियो। जुन विवाहलाई लिएर गरिएका पूर्वअनुमानहरुले सिर्जना भएको थियो।
आफ्ना क्रियाकलापहरुले मानिसहरुमा कुनै समस्या सिर्जना भएको भए त्यसमा पूर्वराजकुमारीले माफी पनि मागिन् र भनिन्, ‘मैले यी सबै बुझेको छु कि मेरो सम्बन्धलाई लिएर मानिसहरुसँग फरक फरक धारणा छन्।’
सामाजिक सञ्जालमा त यो जोडीले करदाताको पैसा खेरफालेकोसम्मका आरोपहरु फैलिएका थिए। तर सञ्चारमाध्यमसँगको सम्मेलनका लागि बुक गरिएको होटल कोठाको भाडा समेत यही जोडीले तिर्यो। ‘यदि सबैभन्दा ठूलो चिन्ता मलाई छ भने त्यो निरन्तर रुपमा प्रकाशित भइरहेको हाम्रो सम्बन्धबारेको हामी र हाम्रो परिवारविरुद्धको अफवाह हो’, सम्मेलनमा उठेको प्रश्नको उत्तर दिँदै उनले भविष्यमा आउनसक्ने सम्भावित चिन्ता व्यक्त गरिन्।
माकोले न्युयोर्कमा कोमुरोसँगको नयाँ जीवनबारे थप खुलाउन चाहिनन्। उनी त्यहीँ बस्ने अपेक्षा गरिएको छ। ‘म अब नयाँ वातावरणमा शान्तप्रायः जीवनलाई अघि बढाउन चाहन्छु’, उनले भनिन्। उनका पति कोमुरो न्युयोर्कमा एक ल फर्म (कानुन वकालती कम्पनी) मा काम गर्छन्।
‘हामीले नयाँ जीवन सुरु गर्दैगर्दा त्यहाँ फरकखाले कठिनाइ आउने नै छन् तर विगतझैँ हामी सँगै हिँड्नेछौँ’, माकोले भनिन्। उनले आफूलाई समर्थन गर्ने सबैप्रति सदाशयता व्यक्त गर्दै धन्यवाद दिइन्।
आफूले भोगेको मानसिक समस्यालाई अवगत गर्दै माकोले अरु धेरै मानिसले आफ्नो माया बचाउनको लागि कठिनाइ र चिन्तित हुनुपरेको बताइन्।
उनले भनिन्, ‘हाम्रो समाज त्यस्तो स्थान हुनेछ जहाँ धेरै मानिसहरुले आफ्नो मायालुसँग बस्न अरुबाट साथ र सहयोग पाउनेछन् भन्ने आशा गर्छु।’
‘अभूतपूर्व क्षण’
उनीहरुको विवाहसँगै जापानी युवराज फुमिहितो र युवराज्ञी किकोले पनि वक्तव्य जारी गरेका छन्। वक्तव्यमा उनीहरुको जेठी छोरीको विवाह राजपरिवारमा यसअघि कहिल्यै नभएको बताएका छन्। साथै उनीहरुले माको–दम्पतीको वैवाहिक जीवन खुसीले भरिपूर्ण हुने आशा गर्दै सफलताका शुभकामना व्यक्त गरेका छन्।
उनीहरुको विवाहलाई रोक्न माग गर्दै टोक्योमा बितेका केही हप्ता त प्रदर्शन पनि भएका थिए। यो विवाहलाई जापानीले त्यति रुचाइरहेका थिएनन्।
योसँगै विवाहसम्बन्धित कम्पनीका सेयरमा गिरावट आउने अनुमान पनि गरिएको बताइएको छ। यो जोडीको विवाहसँगै मंगलबार टोक्योको आकासाका इस्टेटस्थित इम्पेरियल रेसिडेन्सको अगाडि मिडिया र शुभकामना व्यक्त गर्नेको जमात पनि भेला भएको थियो।
‘अब भने उनी (माको) आफ्ना प्रेमीसँगै बाँच्न पाउनेछिन्, म उनीहरुको जीवन कुनै अवरोधविना अघि बढोस् भन्ने चाहन्छु’, किसाराजुबाट त्यहाँ आएकी ५० वर्षीया नर्स माकी सातोले भनिन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि दम्पती सँगै अघि बढेको हेर्न पाइयोस्!’

त्यस्तै योकोहामाबाट आएका ५० वर्षीय योको इन्दो पनि माकोको विवाहमा खुसी व्यक्त गर्छन्। विवाह धूमधामसँग नभएकामा भने उनलाई खसखसी थियो।
सामान्यतया जापानी राजपरिवारका सदस्यको वैवाहिक समारोहमा दुलहीले किमोनो पहिरिन्छिन् र प्राचीन शैलीमा कपाल बाँध्छिन्। तर माकोको विवाहमा यी सबै दृश्य देखिएन। कोमुरोको आमा र पूर्वप्रेमीसँगको आर्थिक लफडापछि सार्वजनिक रुपमा आलोचना बढेपछि विवाह सामान्य रुपमा गरिएको थियो।
इन्दोले भने, ‘म पूर्वराजकुमारीलाई कोमेरोले वास्तविक रुपमै सुरक्षा दिएको हेर्न चाहन्छु।’ माकोलाई जापान सरकारका मुख्यसचिव हिरोकाजु मात्सुनोले पनि एक पत्रकार सम्मेलनमा बधाई दिए।
टेम्पल युनिभर्सिटीमा राजनैतिक विज्ञानकी प्राध्यापक हिरोमी मुराकामी भने पूर्वराजकुमारीप्रति क्षमा माग्छिन्। ‘राजघरानाबाटै सानो सहयोग पाएको र पूर्वराजकुमारीले नराम्रो परिस्थिति सामना गर्नुपर्यो, त्यसका लागि जसमा उनको दोष नै थिएन’, उनी भन्छिन्, ‘यसमा म माफी माग्न चाहन्छु।’
त्यसो त जापानमा हुने हाइप्रोफाइल (अत्युच्च महत्वको) विवाह र राजपरिवारमा जन्मिने बच्चाले पनि जापानी समाजमा ठूलो प्रभाव पार्दै आएको छ। सन् १९९३ मा तत्कालीन युवराज नारुहितोले सामान्य युवती मासाका ओवादासँग विवाह गर्दा जापानमा विवाह दर ९.८ प्रतिशतले वृद्धि भएको थियो।
माकोको यसपटकको विवाहले पनि राजपरिवार सदस्यको भविष्यमा प्रभाव छोडेको छ। जापानलाई विश्वकै लामो समयदेखिको राजतन्त्रात्मक देश मानिन्छ जुन महिलालाई ‘राजा’ बन्न नदिने कानुनका कारण खतराउन्मुख मानिनथालिएको छ।
माको बाहिरिएसँगै जापानको राजपरिवारमा १७ जना सदस्यमात्रै रहेका छन् भने त्यसमा पनि सम्राट् नारुहितोपछि एक जना १५ वर्षीय राजकुमार हिसाहितो र माकोका दाजुपछि राजाका उत्तराधिकारी तीन जनामात्रै छन्।
उत्तराधिकारको समस्या जापानमा यतिचाँडै सिर्जना नहुनेमा मुराकामी विश्वस्त छिन्। साउथ चाइना मर्निङ पोस्टबाट।








