भोजपुर । साँझको चिसोचिसो सिर्र चलेको हावासंगै ढल्किँदै गरेको साँझ एकाएक गडगडाहट तालीको साथ हजारौँ दिङ्लाली दर्शकको चिच्याहटले गर्मियो जब स्टेजमा ‘खुर्सानी डल्ले’ अर्थात गायक भिषण मुकारुङले ‘ईन्ट्री’ मारे । मध्यान्हपछि निकै सुस्ताएको माहोल भिषणले ‘खुर्सानी डल्ले, मै जस्तो दुःखीलाई लैलै पत्याउँछो कोल्ले’ गितको सुर लगाएपछि दर्शकमाझ नाँच्नेको भिडमभाड मच्चिएको थियो ।
सन्ध्याकालिन सांझलाई रंगिन बनाउने क्रममा भिषणले आफ्नो पछिल्लो युट्युबमा निकै भाईरल बनेको पूर्वेली लोकभाकामा सजिएको लोकप्रिय ‘खुर्सानी डल्ले’ गितले हजारौँको संख्यामा उपस्थित दर्शकलाई खुट्टा उफार्न बाध्य बनाए । निकै गर्मिएको साँझमा भिषणले ‘खुर्सानी डल्ले’, ‘अँधेरीमा जुन फुल्दा’, ‘ए खुशी सर्न मन लाग्यो’, ‘धेरैपछि भेटेको’ जस्ता चर्चित गितबाट दर्शकलाई नतमस्तक बनाउन भ्याए ।
त्यस्तै कन्सर्टको अर्को आकर्षण थियो, लोकप्रिय पप गायिका तिर्सना गुरुङ । उनको प्रवेशले नकै गर्माएको युवा जमातमा उनका चर्चित ‘खानी ओ आमु ए कान्छा’, ‘गाईने दाजैले सांरगी रेट्दामा’, ‘साँझको बेला’, ‘रेलैमा चढि काटी उकालीओराली’ लगायतका गितले रौनक बढाएको थियो । त्यस्तै कन्सर्टमा चर्चित हाँस्य कलाकार जोगिन्द्र शिवशंकरको बेजोड हाँस्य प्रस्तुतीले दर्शकलाई पेट मिचीमिची हँसायो । समसामायिक घटनाक्रमलाई हाँस्य प्रस्तुतीमा व्यक्त गरेका हाँस्य कलाकार जोगिन्द्रले हँसाएरै दर्शकको मन जिते ।
नजिकिएको शुभदिपावलीको अवसरमा ‘सुन्दर समुदायको निर्माण, कलासँस्कृतिलाई दिएर सम्मान, थालौँ राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ स्थानीय रुद्राक्ष ब्याण्ड दिङ्लाले आयोजना गरेको ‘दिपावली साँझ २०७५ कन्सर्ट’ मा राष्ट्रियस्तर चर्चित कलाकारका साथै स्थानीय नवोदित कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।