मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरु (फोटोफिचरसहित)

  सिलिचुङ सम्बाददाता

पुष्पलाल मध्यपहाडी लोकमार्गको पहिलो प्याकेज अन्र्तगतको कालोपत्रे काम गर्दै मजदुर । तश्विर/सिलिचुङ

 

भोजपुर । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ । सडकको स्तरोन्नती कामले गती लिएसंगै पहिलो प्याकेज अन्र्तगतको सेरा खोलादेखि भोजपुर सदरमुकामसम्मको साढे ७ किलोमिटर दुरीको सडकखण्डमा कालोपत्रे काम थालिएको हो ।

मध्यपहाडी लोकमार्गको सडकस्तरोन्नतीको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेजको स्तरोन्नती कार्य ०७७ सालको असोज मशान्तसम्म गरिसक्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दुई वर्षको समयावधिमा करिब एक अर्बको लगानीमा बन्ने उक्त राजमार्गको पहिलो र दोश्रो प्याकेजको कालोपत्रे काम ०७६ असोज मशान्तभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । भोजपुर–खोटाङको सिमानामा पर्ने चखेवाभञ्जाङसम्मको उक्त सडकखण्डको कालोपत्रे कामलाई चार प्याकेजमा विभाजन गरि पहिलो प्याकेज अन्र्तगतको कालोपत्रे सुरु गरिएको निर्माण ठेकेदार कम्पनी गोल्डेन कन्सट्रक्शनले जनाएको छ ।
०७४ असोज मशान्तबाट सुरु गरिएको सडक स्तरोन्नती काम ०७६ को असोज मशान्तसम्म पहिलो प्याकेज अन्र्तगत भोजपुर देउरालीदेखि सिद्देश्वर सेराखोला (दाँवा) सम्म र दोश्रो प्याकेज अन्र्तगतको सेराखोला (दाँवा) देखि गुप्तेश्वरसम्मको सडकखण्ड कालोपत्रे बनाईने लक्ष्य लिएको कन्स्ट्रक्शनका साईड ईन्चार्ज डाङी शेर्पाले बताए । ‘पहिलो प्याकेज अन्र्तगतको भौतिक संरचना र सब–बेस गर्ने कामपछि कालोपत्रे थालिएको छ ।’ उनले भने, ‘सेरा खोलादेखि देउरालीसम्मको प्याकेजमा थालिएको कालोपत्रे आउँदो माघ मशान्तसम्म सिद्याउने र आर्थिकवर्ष ०७६÷७७ मा बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड पनि कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ ।’


कालोपत्रेसंगै स्थानीयबासीमा पनि खुशी छाएको छ । गाउँमै कालोपत्रे काम देखिएपछि धुलो, धुँवा त परै जाओस् कच्चि सडक हुँदा जस्तो यात्रा गर्न पनि असहजता कम हुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका स्थानीय कविराज राईले सुनाए । भने, ‘अब गाडीमा सररररर आरामले यात्रा गर्न पाईने भईयो । धुँवा र धुलो खाँदै गाडीमा जिउ नै दुख्ने गरी यात्रा गर्नुपर्ने दिन गए ।’


मध्यपहाडी लोकमार्गको सडकस्तरोन्नतीको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेजको स्तरोन्नती कार्य ०७७ सालको असोज मशान्तसम्म गरिसक्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ । हाल सडकखण्ड डिपिएसटी प्रणाली अन्र्तगत कालोपत्रे कामको ग्राभेल लेभल मिलाएलगत्तै पहिलो चरणमा १२ देखि २० सेन्टिमिटरको गिटी अलकत्र राखेर पेल्ने काम गरिएको छ । यसपछि नअडिएका धुलो निकालेर फेरि ६ देखि १२ सेन्टिमिटर गिटीमा अलकत्र राखी पेलेर कालोपत्रेलाई गुणस्तर थप्ने ईञ्चार्ज शेर्पाले जानकारी गराए ।


पहिलो प्याकेज अन्तगतको उक्त सडकखण्डमा गत चैत मशान्तसम्म सब–वेसका सबै काम सकाएर ७० प्रतिशत वित्तीय काम र ३० प्रतिशत पेभमेन्टको काम बाँकी रहको थियो । ईन्चार्ज शेर्पाका अनुसार हाल पहिलो प्याकेजको कालोपत्रे कामबाहेक बाँकी तीन प्याकेजमध्ये दोश्रो प्याकेज महावीर कन्स्ट्रक्शनले ग्राभेलीङको ठेक्का गरिरहेको, तेश्रो प्याकेजमा ८० प्रतिशत र चौँथो प्याकेजमा ५५ प्रतिशत भौतिक संरचना र पेभमेन्टको काम सम्पन्न भएको छ ।


उक्त सडकखण्डको कालोपत्रे, वालिङ, सोलिङ लगायतको काममा हाल ३ सय ५० को हाराहारीमा कामदारहरु खटाईएको छ । त्यस्तै उक्त कालोपत्रे काम भईरहेको भोजपुर नगरपालिका वडा नं ४ सिद्देश्वर र ५ बोखिमको सिमानामा रहेको सेरा खोलामा आरसिसि पक्कि पुलको काम सम्पन्न भएसंगै यात्रुबाहक, मालबाहक सवारीसाधनहरुलाई सहज भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे सम्पन्न भएपछि काठमाडौँ आवतजावतमा दुरी छोटिने हुँदा भोजपुर लगायतका छिमेकी जिल्ला संखुवासभा, ताप्लेजुङ, धनकुटाका यात्रुलाई सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार