‘गोल्डेन जुब्ली’ एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरूपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ।

दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरूद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिएको छ।

स्थानीय सञ्चार माध्यम अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रूपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको हो।

दक्षिण कोरियाली अधिकारीहरूले अहिले उत्तर कोरियाको जवाफको प्रतीक्षा गरिरहेको पनि स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

कोरियाली प्रायःद्वीपमा सन् १९१० देखि १९४५ सम्म जापानको साम्राज्य थियो। देशव्यापी स्वतन्त्रता आन्दोलनका क्रममा सन् १९१९ मार्च १ तारिखका दिन सात हजार ५०० कोरियाली नागरिक मारिएका थिए भने ५० हजार भन्दा बढी गिरफ्तार भएका थिए।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले गत सेप्टेम्बरमा संयुक्त रूपमा शतवार्षिक समारोह मनाउने सहमति गरेका थिए।

उत्तरको राजधानी प्योङ्याङमा भएको दुई नेताको तेस्रो शिखर बैठकमा भएको सम्झौतामा यो कुरा उल्लेख गरिएकाले दक्षिण कोरियाले संयुक्त रूपमा मनाउन अहिले पत्राचार गरेको अधिकारीहरूले बताएका छन्।

अघिल्ला वर्षहरूमा दुवै कोरियाले एकै दिन आ–आफ्नै तरिकाले यो दिवसलाई मनाउने गरेका थिए। (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार