चलचित्र विकास बोर्डका नवनिर्वाचित अध्यक्ष केशव भट्टराईले सफथ ग्रहणका बेला विदेशी चलचित्रमाथि कोटा प्रणाली लागु गरिने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तीलाई साकार रुप दिन सक्लान् भनेर कसैले सायदै सोचेको थियो होला । तर सेन्सर पासका लागि अनुमति लिन चलचित्र विकास बोर्ड गएको बलिउडको प्रतिक्षित चलचित्र ‘कलंक’ले खाली हात फर्किनु पर्यो । बुधबार रिलिज मिति तोकिएको ‘कलंक’को सेन्सर पासका लागि निवेदन माग्दै वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस बोर्डमा पुगेपछि कर्मचारीले अध्यक्ष केशव भट्टराईको आदेश भन्दै फिर्ता पठाइदिएका हुन् ।
यस निर्णयको बिरोध गर्दै क्यूएफएक्स संचालक भाष्कर ढुंगानाले आफ्नो फेसबुक स्ट्याटसमा ‘स्वार्थहरुको द्धन्द्ध’ र ‘अख्तियारको दुरुपयोग’ भनेका छन् । रिलिज डेट तोक्ने काम चलचित्र विकास बोर्डको नभएको बरु प्रदर्शक, वितरक र निर्माताको समन्वयमा हुनुपर्ने लेखेका छन् ।‘कलंक’ ब्यान्ड गर्ने भट्टराई कदमको विरोधमा मुख्यत: मल्टिप्लेक्स क्यूएफएक्स उत्रिएको छ ।
एकाएक विदेशी चलचित्रमाथी यसरी तगारो लगाउने निर्णयको चर्चा परिचर्चा अवश्य होला तर यतिबेला भट्टराईद्वारा निर्माण गरिएको चलचित्र ‘यात्रा’ अहिले हलमा चलिरहेको छ र ‘कलंक’ पछिल्लो समयको प्रतिक्षित चलचित्र हो ।कतै ‘ए मेरो हजुर ३’ सँग प्रतिस्पर्धामा रहेको ‘यात्रा’लाई दर्शकको खडेरी व्यहोर्न नपरोस अनि एक तिरले दुइ सिकार पनि गर्न सकियोस् भन्ने उद्देश्य त होइन ? ‘कलंक’लाई बुधबार रिलिज गराउन गोपिकृष्ण, गंगा र गुण सिनेमा हलले अध्यक्षले निर्माण गरेको चलचित्र ‘यात्रा’लाई ठूलो अकुपेन्सीसहितको अडिटोरियम उपलब्ध गराएका थिए भने यता मंगलबार अध्यक्षसहित चलचित्र विकास बोर्डमा बसेको बैठकमा भट्टराईले बुधबार कुनै हालतमा फिल्म रिलिज नगर्ने बरु शुक्रबार रिलिज हुनसक्ने भन्ने निर्णय गरेको थियो ।
भट्टराइले चालेको यस कदमको आयु कती छ त भन्न सकिँदैन तर विदेशी चलचित्रलाई प्रदर्शनमा रोक नै लगाउनु कत्तीको उपयुक्त हो त्यो बहसको विषय बनेको छ ।