समाजवादी पार्टी : दल दर्ताका लागि आयोगमा निवेदन

एकीकरण घोषणाको ५ हप्तापछि समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आज निवेदन दिएको छ । दल दर्ताका लागि निवेदन प्राप्त भएको र त्यस सम्बन्धमा थप अनुगमन एवं जाँचको प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ ।

गत बैशाख २३ गते तात्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले आफ्नो झण्डा तय गरेपनि चुनाव चिन्ह भने टुंगो लगाएको छैन ।  फोरम नेपालको मसाल वा नयाँ शक्तिको आँखा के राख्ने भन्ने विवाद कायम रहेपछि त्यसलाई थाती राख्दै समाजवादी दल दर्ता प्रक्रियामा गएको हो । सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार, रातो र हरियो रंग भएको झण्डाको बीचमा तारा राख्ने सहमति भएको छ । सहअध्यक्ष श्रेष्ठले संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईलाई पहिलो र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो स्थानमा राख्दै पार्टीको विधान तयार भएको बताउनुभयो । ४ सय ३१ सदस्यीय केन्द्रीय समिति र २५ सदस्यीय कार्यकारिणी परिषद पार्टीमा रहनेछ ।  एकीकरण घोषणा भएको एक महिना र एक हप्ता भएपनि प्रतिनिधि सभामा फोरम नेपाल र नयाँ शक्ति पार्टी सत्तारुढ र प्रतिपक्षी दलको छुट्टाछुट्टै सिटमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार