भोजपुर । भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक पिटिएका छन् । सदरमुकामस्थित स्थानीय सगरमाथा हाईयर ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल रमेश कुमार आलेले विद्यालय समयमा टाई र कोट लगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् ।
आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पिडित शिक्षक अधिकारीले बताए । ‘आईतबार विहान खाना खाएर सर्ट र पेन्ट लगाई उहाँको चेम्बरमा पुग्नसाथ ‘खलासीजस्तो भएर आउने’ भन्दै गाली गर्नुभयो’ पिडित शिक्षक अधिकारीले भने, ‘जवाफमा मैले कसैको गाली खान आ’को हैन, मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी कुटपिट गर्नुभयो ।’ यसअघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई गाला र ढाडमा कुटपिट गरेको सुनाए ।
यता प्रिन्सिपल आलेले भने शिक्षकको व्यवहार नै अस्वभाविक भएकोले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए । विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनले बताए । आफुमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताएका छन् । शिक्षक अधिकारीको तलबमा समेत तलमाथि नगरेको उनले बताए ।
ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षिय अधिकारी विगत पाँच महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० लाई अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका थिए । आफ्नो साथमा विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनको गुनासो छ । प्रति महिनाको ३५ हजार पारिश्रामिकमा पढाउँदै आएका शिक्षक अधिकारीले विद्यालयले एक महिनाको तलब पनि रोक्का गरिदिएको उनको भनाई छ ।
प्रिन्सिपलले आफुमाथि गरेको र्दुव्यवहारप्रति पिडित शिक्षक अधिकारी अहिले न्यायका लागि प्रहरी, प्रशासनमा पनि पुुगेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारबाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरि समाधान गरिदिन लेखि पठाएको बताए । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले पनि दुवै पक्षलाई बोलाएर छलफल गरि समस्याको समाधान खोजिने बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राईले एउटा श्रमजिवीमाथि भएको कुटपिटमाथि आपत्ती जनाएका छन् ।