के शिव भगवानलाई हरियो रङ मन पर्छ ?

फायल तश्विर

 

काठमाडौं । साउन लागेसँगै महिलाहरू हरियो पहिरनमा सजिने गर्छन् । शिव भगवानलाई पनि हरियो रङ मन पर्छ भन्‍ने धेरै महिलाको विश्‍वास छ। साउनभर विवाहित र अविवाहित महिलाहरू हातमा हरिया चुरा,मेहन्दी र लुगा लगाउन मन पराउँछन् । साउनको हरियो फेसनले राम्रो बजार लिने गरेको छ ।
तर, के साँच्चिकै हरियो रङ भगवान शिवलाई मन पर्छ त ? यसबारेमा विभिन्‍न विश्‍वास र तर्क छन् । एकथरीले शिवलाई हरियो रङ मनपर्छ भने विश्‍‍वास गर्छन् भने संस्कृतिमा चासो राख्‍नेहरु शिवको रोजाइको रङ हरियो नभएको तर्क गर्छन् । कुनै पनि शास्‍त्रमा शिवलाई हरियो रङ मन पर्ने उल्लेख नभएको उनीहरुको दाबी छ ।
साउनमा हरियो रङ प्रकृतिसँग मेल खाने भएकाले हरियो पहिरन लगाउनु स्वभाविक भएको आम विश्‍वास छ । हरियो रङ स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हरियो रङले आँखालाई फाइदा हुनेगर्छ ।
शिवको पूजा गर्दा हरियो धतुरो, रुद्राक्ष र हरिया फूलहरु चढाउने चलन छ । हरियो पहिरनमा सजिएर सोमबार बिहानै पशुपति पुगेकी कंचन कार्की भन्छिन्, ’चलिआएको चलन हो । महादेव शिवलाई मन पर्छ भन्‍ने विश्‍वासमै हरियो पहिरन लगाइन्छ । साउनमा हरियो लगाउँदा बेग्लै आनन्द हुन्छ ।’

के भन्छन् संस्कृतिविद् ?
संस्कृतिविद् गोविन्द टण्डनले हरियो रङ र शिवको खासै सम्बन्ध नभएको बताउँछन् । टण्डन् भन्छन्, ’शिवलाई हरियो रङ मन पर्छ वा हरियो रङ ’शिव रङ’ हो भनेर कुनै धर्मशास्‍त्रमा लेखिएको छैन ।’
टण्डनका अनुसार शिवको आराधना गर्दा धतुरो, रुद्राक्ष र हरियो कलरका फूलहरु चढाइने गरिन्छ ।त्यही भएर शिवलाई हरियो रङ मन पर्छ भन्ने विश्वासका साथ हरियो रङप्रति महिलाहरु आकर्षित भएका हुन् । उनी भन्छन्, ’अहिले त हरियो रङ फेसनजस्तै भइसक्यो ।’
’भगवानलाई सप्तरङ वा सातै रङ मनपर्छ’ उनले भने,’ खासमा शिवलाई सेतो रङको पिताम्बर चढाइने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार