नेकपाको सचिवालय बैठकमै नेताहरुबीच घोचपेच

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार झण्डै डेढ घन्टा बस्यो । औपचारिक कुनै निर्णय नगरे पनि अनौपचारिक रुपमा विभिन्न विभागीय जिम्मेवारी, विशेष कमिटी गठनलगायतका विषयमा नेताहरुबीच छलफल भएको छ ।

स्कुल विभागको प्रमुखमा कुरा नमिल्दा पछिल्ला बैठक बस्दै नबसेर स्थगित हुँदै आएका थिए । प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको प्रमुख दावी गरेपछि कुरा मिल्न सकेको छैन ।

सोमवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अनौपचारिक रुपमा स्कुल विभागका विषयमा समेत छलफल भयो । एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई अब के गर्ने हो ? भनेर प्रश्न गरेका थिए ।

अनौपचारिक छलफलकै क्रममा श्रेष्ठले आफ्नो कुरा गलत भए यस कारण गलत छ भन्न प्रधानमन्त्रीलाई आग्रह गरे । श्रेष्ठले आफ्नो अन्य जिम्मेवारी पनि नरहेको र वरियता अनुसार अन्य सचिवालय सदस्यले रोजेर विभिन्न विभागीय जिम्मेवारी लिएको तर्क गरे । श्रेष्ठको तर्क सुनेका ओली अनुत्तरित भए ।

औपचारिक बैठकको सुरुमै माधवकुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले विभागका विषयमा छलफल गर्न आग्रह गरे । तर अध्यक्ष ओलीले विभागको छलफल नगरौं भन्ने प्रस्ताव गरे । ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरे । त्यसपछि विभागका विषयमा सोमवारको बैठकमा कुनै छलफल नभएको एक नेताले जानकारी दिए ।

विशेष कमिटीको विषयमा छलफल सुरु भएपनि निष्कर्षमा भने त्यो विषय पनि पुग्न सकेन् । महासचिव विष्णु पौडेलले विशेष कमिटीका विषयमा बैठकमा प्रस्ताव राखे । तर वरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले गृहकार्य नपुगेको भनेपछि त्यो विषय पनि पर्याप्त गृहकार्य गरेर छलफल गर्ने भन्दै टुंगियो ।

राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, निकाय, विभाग र जनसंगठनलगायत विषयमा सबैको भावना बुझ्ने भन्दै बैठक स्थगित भयो । साउन २८ गते बस्ने सचिवालय बैठकअघि दुई अध्यक्षले अन्य नेतासँगसमेत छलफल गर्ने तयारी छ ।

नेकपाको सचिवालयमा रहेका नौजना नेताबीच अनौपचारिक रुपमा घोचपेच हुने गरेको छ । सोमवारको बैठकमा समेत नेताहरुबीच घोचपेच भएको छ । श्रेष्ठ र अन्य नेताले पनि पोखरेलको घोचपेचमा प्रतिउत्तर दिने गरेका छन् ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आएका प्रतिक्रियाका विषयमा समेत अनौपचारिक रुपमा छलफल हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार