भोजपुर । भोजपुरमा श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई कारागार चलान गरेको छ ।
जिल्ला अदालतले भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा मानबहादुरकी २३ वर्षीय श्रीमती कविता तामाङ, तामाङकै सासु षडानन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा तामाङ र सुनसरीको धरान उपमाहानगरपालिका वडा नम्बर–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
तामाङकोे गत जेठ २ गते ससुराली घरमा गएको वेला झुक्याएर विष सेवन गर्न लगाई हत्या गरेको भनि मानबहादुरका आफन्तले दिइएको उजुरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीले कविता र पम्फालाई असार २० गते घरबाट र पुर्णबहादुरलाई साउन १२ गते पक्राउ गरेको थियो ।