भोजपुर । भाईरल ज्वरोले विद्यार्थी हुन थालेपछि विद्यालय बन्द गरिएको छ । षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयले ३ दिन विद्यालय बन्द गरेको हो । भाईरल ज्वरोबाट दिङ्लाका अन्य ३ विद्यालयका विद्यार्थीहरु समेत विरामी भएको विद्यालयले जनाएको छ ।
भाईरल ज्वरोले अरुण माविको कक्षा १ देखि १२ सम्मका २ सय २ जना विद्यार्थी विरामी भएपछि विद्यालय बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्यापक श्रीकृष्ण बोगटीले बताए । यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराईज बोर्डिङ स्कुलका विद्यार्थीहरुमा समेत ज्वरोको असर देखिएको छ । भाईरलले विद्यार्थीहरु एकपछि अर्को गर्दै विरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता आएको सहायक प्रधानाध्यापक बोगटीले बताए ।
विद्यालयामा केहिदिन अघिदेखि सुरु भएको भाईरल ज्वरोले विद्यार्थीसंगै स्थानीय सर्वसाधरण समेत ग्रसित बनाएको छ । दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्र ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीहरुमा ३० देखि ४० जनाको हाराहारीमा भाईरलका विरामीहरु आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भिर किसिमका विरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
मौसम परिवर्तनसंगै जिल्ला अस्पतालको ओपिडीमा पनि दैनिक १५ जनासम्म भाईरलका विरामीहरु स्वास्थ्यजाँच गर्न आउने गरेको अस्पतालले जनाएको छ । दुषित खानेपानी, बदलिँदो गर्मी मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाईरलको विरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा। शिवजी रिजालले बताए । उनले भने, ‘गर्मीयाममा दुषित खानेपानी, खानपानमा राम्रो ध्यान नदिँदा, घर वरपर सफा नराख्नाले भाईरल ज्वरोको अधिकत्तम संक्रमण बढ्ने गर्छ ।’