भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले हतियार सहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला सेक्रेटरी बम विष्टलाई सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर विष्टलाई सार्वजनिक गरेको हो ।
विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखाको गजुरमुखी भीर नजिकको जंगलबाट हतियार सहित पक्राउ गरिएको थियो । विष्टको साथबाट ६ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान बरामद भएको छ । त्यस्तै १२ वटा सिमकार्ड सहित दुई ओटा मोवाईल, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।
पछिल्लो समय नगर क्षेत्रमा चन्दा आतंक गर्ने तथा अपराधिक घटना घटाउने योजना अनुसार प्रतिवन्धित विप्लव समुहका कार्यकर्ताहरु हातहतियार सहित घुमफिर गरी रहेका छन् भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरीबाट खटेको टोलीले भैसिपंखामा रहेको अँधेरी खोला नजिकै चेक जाँचका क्रममा विष्टलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मगरले बताए ।
पक्राउ परेका विष्टलाई जिल्ला अदालत भोजपुरबाट आइतबारबाट लागु हुने गरी हातहतियार खरखजना तथा विष्फोटक पदार्थ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । पछिल्लो समय जनमानसमा प्रहरीले नियन्त्रणमा लिनका लागि गोली हान्ने खालको भ्रम पर्दै गएकोले विशम परिस्थिती बाहेक अन्य अवस्थामा प्रहरीले गोली नचलाई कानुनी दायरामा ल्याउन नियन्त्रणमा लिने प्रहरी प्रमुख सलामी मगरले बताए ।