भोजपुर । भोजपुर आम्तेकका ३२ वर्षिय चन्द्र खड्का गत असोज ३ गते काठमाडौँ पुगे । उनलाई वैदेशिक रोजगारको शिलशिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो । तर काठमाडौँ पुग्नासाथ घरबाट बावुको देहान्तको खबर पाएपछि उनी मुर्छित बने । रातारात बस चढेर उनी घर फर्किए । ३ दिनपछि घरपुग्दा जेठा दाजु सम्मर बहादुर खड्काले बावुको पार्थिव शरिरलाई संस्कारी सकेका रहेछन् । उनी पनि केश काटी सेतो बस्त्रमा किरीयापुत्री बस्न दाजुकहाँ पुगे ।
तर दाजुसंगै किरीयापुत्री बस्ने तयारीमा उनीमाथि नसोचेको घटना घट्यो । उनलाई किरीयापुत्री बस्न दिईएन । कारण, चन्द्रले दलित समुदायकी केटी विवाह गरेका थिए । उनलाई किरीयापुत्री बस्न बन्देज गरिएपछि उनलाई यो घटनाले बावुको मृत्यूभन्दा कयौँ गुणा मर्माहत बनायो ।
‘यो कस्तो समाज अनि कस्तो धर्मसंस्कार ? मैले मेरो जन्मदिने बावुको किरीयापुत्री बस्न पनि पाईनँ, मेरो के दोष छ’ उनले भावुक हुँदै गुनासो पोखे, ‘दलित विहे गरेँ भन्दैमा मलाई घर र समाजले छिछिधुरधुर गर्ने, मेरी श्रीमती पनि त मान्छे हो, सबैको रगत उस्तै त होला नि’ पिडीत चन्द्रका दाजु सम्मरबहादुर, किरीयापुत्रीको काम गराउने पण्डित र केहि समाजले उनलाई बहिष्कृत गरेका थिए । कुनै पनि हालतमा किरीयापुत्री बस्न नदिएपछि उनी अन्ततः प्रहरीको शरणमा पुगे ।
छुवाछुतको अन्त्य भनिएपनि जरो नउखेलिएको यो एक ज्वलन्त उदाहरण हो । जातीय भेदभावको यो अर्को घटनाले समाजको विकृतिलाई ताजा गराएको छ । दलित महिलासंग विवाह गरेको चन्द्र खड्कालाई बावुको किरीयापुत्री बस्नबाट अवहेलना गराईएको घटना सार्वजनिक भएको छ ।
०६२ सालमा छिमेकी लालबहादुर विश्वकर्माकी छोरी गिता विश्वकर्मासंग प्रेमविवाह गरेका चन्द्र र उनका दाजु सम्मरविच सम्बन्ध राम्रो नभएपछि छुट्टै बस्दै आएका थिए । विवाहको केहि समयपछि दाजुसंग चन्द्रको सम्बन्ध चिसिएको थियो । घरमा आउजाउ मात्रै नभई बोलचाल नै बन्द थियो । चन्द्र र गितालाई दाजु र अन्य दाजुभाईले पनि राम्रो व्यवहार नगरेको उनको दुखेसो छ । उनका १३, ११, ७ वर्षका ३ छोरी र १५ महिने छोरा छन् ।
दाजुको घरमा दाजुसंगै बावुको किरीयापुत्री बसेका बेला ब्राम्हण लेखनाथले दाजु सम्मरबहादुरलाई ‘भाईसंगै बसेर झुठो बार्छौ भने म आएर काम गर्दिन, तिम्रो भाईलाई छुदिनँ’ भनेर आफुलाई सामाजिक बहिष्कार गरेको उनले पिडा पोखे । त्यसपछि दाजुले पनि ‘तँ तेरो घरमा गएर झुठो बार्, म मेरो घरमा झुठो बार्छु, यहाँ नआईज’ भनेर तिरष्कार गरेपछि आफु प्रहरीको शरणमा पुगका थिए ।
आधुनिक युगमा आएर पनि आफुलाई गरिएको पशुसरह व्यवहारप्रति खेद जनाउँदै चन्द्रले भने, ‘आफ्नो जन्मदिने बावुको किरीया बार्नुपनि जातपात भनेर हेपिए । के मैले दलित विहे गरेँ भन्दैमा बावुको किरीया गर्न पनि नपाउनु?’ घटनापछि गिताका माईती पक्षले पनि न्यायको माग गरेका छन् । आफ्नी बहिनी र ज्वाँईप्रति घिनलाग्दो व्यवहार गरेकोमा दोषीमाथि कारबाही हुनुपर्ने गिताका बावु लालबहादुर विश्वकर्माले आक्रोश पोखे ।
चन्द्र र उनको परिवारप्रति भएको सामाजिक बहिष्कारप्रति जिल्ला दलित उत्थान संघले गहिरो खेद प्रकट गरेको छ । चन्द्रको घटनाले अझै पनि समाजमा पुनः जातीय कलंक निम्त्याएको दलित अधिकारकर्मी दुर्गा रणपहेँलीले बताए ।
प्रहरीमा जाहेरी
बावुको किरीयापुत्रीबाट बहिष्कृत भएपछि शुक्रबार पिडीत चन्द्रले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिए । प्रहरीले पनि इलाका प्रहरी तिवारीभञ्ज्याङको टोली खटाई दाजु सम्मरबहादुर, पण्डित लेखनाथ र छिमेकी दाजुभाईसंग पिडीत पक्ष राखेर मिलापत्र गर्ने कोसिस गरेपनि कुनै ठोस निर्णय आउन सकेन । मिलापत्रमा सहमती नभएपछि पिडीतको जाहेरी अनुरुप कानुनी प्रक्रिया अघि बढ्ने डिएसपी नरबहादुर मगरले बताए ।