खर्च विवरण सार्वजनिक

  बाबुराम बास्ताेला

सङ्खुवासभा ।  खाँदबारी नगरपालिका वडा नं १० मा अवस्थित कालिका देवीथान मन्दिरमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ । गत असोज ११ गते देखि २० गतेसम्म भएको महायज्ञको शनिवार एक पत्रकार सम्मेलन गर्दै आयोजकले सार्वजनिक गरेको हो ।
मन्दिर परिषरमा नै गरिएको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मुल समारोह समितिका सचिब पोषराज पोख्रेलले कुल आम्दानी १३ लाख ८६ हजार ९ सय ८२ रुपैया र कुल खर्च ६ लाख ६० हजार ८ सय ५४ रुपैयाँ रहेको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
आम्दानी मध्ये दाताहरुबाट ११ लाख ४९ हजार ४ सय ६८, देविमा चढाएको भेटिबाट ३ हजार ७ सय २७ रुपैया, दान पेटिकाबाट ५ हजार १ सय ४२, सामान विक्रिबाट २८ हजार ६ सय ४५, र खाँदबारी नगरपालिकाबाट २ लाख रुपैया रहेको छ । यता खर्च तर्फ साउण्ड सिस्टम पन्नाललाई ३५ हजार, गाडी भाडा १७ हजार, सुचना सञ्चार तथा छपाईमा ४४ हजार ६ सय २०, गुरु दक्षिणा १ लाख ३२ हजार ४० रुपैया, खाद्यान्न तथा अन्य खर्च तर्फ २ लाख ३५ हजार ६९ रुपैया र निमार्ण तर्फ १ लाख ९७ हजार १ सय २५ रुपैयाँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजकले दिएको जानकारी अनुसार ७ लाख २६ हजार १ सय २८ रुपैय बचत रहेको छ । महायज्ञमा ३ सय ७८ जनाले चन्दा दान गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै खाँदबारी नगरपालिका वडा नं १० का वडाअध्यक्ष केशव थापाले यो देविथानलाई धामको रुपमा विकसित गर्नु पर्नेमा जोड दिए । उनले यस्ता महायज्ञमा खर्च विवरण कमै मात्र सार्वजनिक हदै आइरहेको अवस्थामा आयोजक समितिले खर्चको विवरण सार्वजनिक गरेर उत्कृष्ट कार्य गरेको बताए । खर्च विवरण पारदर्शि रहेको पाइएको समेत उनले दावि गरे ।
मुल आयोजक समितिका अध्यक्ष खेमराज गुरागाईले यो देविथानलाई धामकै रुपमा विकसित गर्ने लक्ष्य लिएको बताए । उनले खाँदबारी नपा १० मा कुनै पर्यटक आउदाँ यो कालिका देविधान धाममा कम्तिमा १० मिनेट विताउने वातावरण बनाउन अहोरात्र खटिएको र यो महायज्ञ सुरुवात भएको बताए । उनले अब बचत रहेको रकमलाई अक्षयकोष बनाएर दैनिक पुजापाठ गर्ने योजना रहेको पनि बताए । सङ्खुवासभामा कमै मात्र महायज्ञ तथा महापुरणहरुका आयोजकहरुले खर्च विवरण सार्वजनिक गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार