भोजपुर । पछिल्लो समय जिल्लाका दक्षिणी ग्रामिण क्षेत्रमा लागूऔषधको रुपमा रहेको गाँजा फैस्टाएको छ । भित्री ग्रामिण भेगमा स्थानीयले व्यावसायिक रुपमै गाँजाखेती गर्ने गरेको भेटिएको हो । त्यसको अवैध रुपमा बेचविखन र प्रयोजन रोक्न प्रहरी आफै सक्रिय बन्न थालेको छ ।
केहि दिनदेखी जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरीको प्रहरी टोलीले गाउँगाउँ पसेर अवैध गाँजा नष्ट गर्ने काम अगाडी बढाएको छ । विशेषगरी प्रहरीले गाँजाको पकेट क्षेत्र नै रहेको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाका विभिन्न ग्रामिण इलाकामा अवैध रुपमा फैलिएको गाँजा नष्ट गरेको छ ।
केहि दिनदेखी नष्ट गर्न सक्रिय बनेको प्रहरी टोलीले १० करोड बराबरको गाँजा नष्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिए । भने, ‘अवैधानिक रुपमा फैलिएका गाँजा व्यावसायिक रुपमै खेती गरेको पाईएको छ, बारीतिर तरकारीभन्दा बढि गाँजाको बोट भेटिएको थियो, भेटिएका सबै गाँजा नष्ट गरेका छौँ’
प्रहरीले व्यवसायिक रूपमा लगाएको करिब ९३ हजारबढि गाँजाको बोट नष्ट गरेको जनाईएको छ । जसमा प्रहरीले हतुवागढी गाउँपालिकाको हसनपुरस्थित १ सय ३८ रोपनीमा लगाएको साढे ८६ हजारबढि गाँजाको बोट नष्ट गरेको छ । त्यस्तै आमचोक गाउँपालिका ७ देवानटार र ८ दुम्मानाको १९ रोपनी साढे ६ हजारबढि गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।
व्यवसायीक रूपमा लगाईएका ती गाँजा धरान, विराटनगर हुँदै भारतसम्म तस्करी हुने गरेको पाईएको डिएसपी नरबहादुर सलामी मगरले बताए । ‘विशेष सुत्रका अनुसार यहाँ उत्पादन भएको गाँजा अवैध तरिकाले भारतसम्म तस्कर हुने गरेको पाईयो, अहिले यसक्षेत्रमा प्रहरी गस्ती पनि लगाएका छौँ’ उनले भने,‘गाँजा रोपिएका क्षेत्र पुग्दा घरमा केटाकेटी र बुढाबुढी मात्रै भेटिन्छन्, प्रहरी आएको सुईको पाउनासाथ धेरै युवाहरु गाउँ नै छोडेर भागेको पनि भेटियो ।’