दाङमा लुकाएर राखेको हतियार बरामद, विप्लव समूहले राखेकाे आशंका

  सिलिचुङ समाचारदाता

दाङ । प्रहरीले विप्लव समुहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतला गर्दै जाँदा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरि शनिवार जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले ती सबै हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव समुहको भएको जानकारी दिएका छन् ।
असोज ३० गते मात्रै प्रहरीले दाङको गढवा गाउँपालिकाको सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘बीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो । त्यसको ठिक एक महिना पछि प्रहरीले यी हतियारहरु बरामद गर्न सफल भएको छ ।
दाङको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर खोज तलास गर्ने क्रममा रित्ता गोठहरुमा स्थान्तरण गर्नको लागि सुटकेटसमा राखेको अवस्थामा ती हतियार बरामद भएको एसपी भट्टराईले बताए ।
उनले ती सबै हतियार एउटै गोठवाट शुक्रावर बेलुका ६ बजेतिर लुकाई राखेको अवस्थामा प्रहरीले फेला पार्न सफल भएको जानकारी दिए ।
खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर त्यसलाई पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेका एसपी भट्टराईले जानकारी दिए ।
विप्लव समुहले ती हतियार कुन प्रयोजनका लागि कहाँ लैजाँदै थिए भन्ने बारेमा थप अनुन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार