भोजपुर । ‘ए हजुर नमस्कार ! यसपालीको वडाध्यक्षको चुनावमा म उठेको छु । भोट दिएर सहयोग गर्नुहोला’ नेकपाबाट पौवादुङ्मा गाउँपालिकाका वडा नं १, श्यामशिलाको अध्यक्ष उम्मेदवार जितेन राई साँझ विहान भोट माग्न घरदेखि मेलापातसम्म पुग्छन् । अन्य नेता तथा कार्यकर्ता पनि भोटका लागि जनता रिझाउन छलफल, बैठक र भेटघाटमा व्यस्त हुन्छन् ।
‘भोट माग्ने केहि दिन बाँकी भएपनि हाम्रो अभियान जारी छ,’ उम्मेदवार राईले भने, ‘मतदाता मेलापातमा व्यस्त छन् । हामी त्यही पुगेर पनि भोट मागिरहेका छौं ।’ धान थन्क्याउने चटारोमा मतदाताहरु व्यस्त भएकाले विहान साँझ घरको चुलाचौकामा र दिउँसो खेत तिरै भेट हुने गरेको उनले सुनाए ।
बालीनाली भित्राउने सिजनले पनि सर्वसाधारणलाई मेलापातमा व्यस्त बनाएको छ । तर पनि चुनावको उत्साहमा कम नभएको कांग्रेसका तर्फबाट उम्मेदवार बनेका समर बहादुर कार्कीले बताए । ‘कामको मारामार छ, भनेको स्थानमा मान्छे भेटाउनै गाह्रो छ । त्यसैले पनि चुनावको प्रचार पनि खेत तथा बारीमै पुगेर गरिरहेका छौ ।’ भोजपुरमा एउटै मात्र वडा प्रमुखविहीन बनेपछि उपनिर्वाचन हुन लागेको हो । दलीय प्रतिष्ठा बोकेको उक्त वडामा नेकपा, नेपाली कांग्रेस र मंगोल नेशनल अर्गनाईजेशनको उम्मेदवारी परेको छ । नेकपाबाट जीतेन राई, नेपाली काङ्ग्रेसबाट समर बहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनबाट कला राईको उम्मेदवारी छ ।
पार्टीका केन्द्रिय सदस्य, सांसद र गाउँपालिका तथा नगरपालिका, वडातहका जनप्रतिनिधीहरु पनि चुनाव प्रचारप्रसारमा होमिएका छन् । आफ्नो दलीय मैदानबाट वडाध्यक्षमा उठेका उम्मेदवारलाई वियजी गराउन सर्वसाधरणको घरदैलोमा पुगेका छन् । चुनावी प्रचारका क्रममा नेकपा केन्द्रिय सदस्य तथा सांसद सुदन किराँती पनि उक्त वडाको विकासमा केन्द्रिय सरकारको तहबाट पहल गर्ने बताए । उनले वडा नं १ श्यामशिलाको खानेपानी, विद्युत तथा सडक विस्तारमा काम गर्ने समेत बताएका छन् ।
‘केन्द्र, प्रदेशसंगै स्थानीय तहमा पुगेको सरकारले वडामा पनि विकासको लहर ल्याउनेछ’ उनले भने, ‘मैले वडाको समस्यालाई नजिकबाट नियालेको छु, यी समस्याको समाधान गाउँपालिकाले गर्न सकेन भने त्यो काम प्रदेश र केन्द्र सरकारको तर्फबाट गराउन मेरो पहल रहन्छ ।’ आगामी मंसिर १४ मा उपनिर्वाचनका लागि आ–आफ्ना चुनावी एजेन्डा बोकेर मतदाता रिझाउन जनप्रतिनिधीदेखि सांसदसम्म भोटका लागि खटिएका छन् ।
‘अरूबेला खेतबारीको के कुरा घरमा समेत नआउने नेता हामीलाई खोज्दै खेतबारीतिर आउँदा त रमाइलो लाग्छ,’ अर्खौलेका शान्ति तामाङले हाँस्दै भनिन्, ‘भोटका लागि हामीलाई खोज्दै उम्मेदवारहरू खेतमै आएपछि भोट त दिनै पर्ला, आखिर एउटा न एउटालाई त नेता बनाउनै प¥यो’
पहिले पनि निर्वाचन जितेका जनप्रतिनिधीले गाउँगाउँमा विकास ल्याउने वाचा दिएपनि खोजेजस्तो काम गर्न नसकेको श्यामशिला तिलारका ८१ वर्षिय खड्ग बहादुर पाण्डेले गुनासो गरे । ‘हामी किसानलाई माना खाएर मुरी उब्जाउने बेला भोट माग्दै आउँछन्, पहिले पनि आए, भोट त दिनै प¥यो’ पाण्डेले भने, ‘फेरि पनि गाउँको मुहार फेरिएला कि भन्ने आस छ । फेरि चुनाव आइपुग्यो ।’
स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निवार्चित रुद्रबहादुर पाण्डेकोे ७२ वर्षको उमेरमा गत श्रावण १९ गते निमोनियाका कारण निधन भएपछि उक्त वडा प्रमुख विहिन बनेको थियो । उक्त वडामा उप–निर्वाचनमा कुल एक हजार ६ सय १६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।