बाँके । बाँकेको कोहलपुरस्थित ट्रकको ठक्करले बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले गरेको प्रदर्शनले चर्किएपछि कफ्र्यू जारी गरिएको छ ।
कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्तासम्म, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ ।
कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान करिब साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो । आफ्नी सहपाठीलाई ठक्कर दिएपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।
ठूलो संख्यामा उपस्थित भएका विद्यार्थीले ट्रकमा आगजनी गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन दर्जनौं हवाई फायर गरेको बताइएको छ । प्रहरीले चालकलाई आफ्नो नियन्त्रणमा लिईसकेको जनाएको छ । यस्तै ट्रक पूर्ण रुपमा जलेको ईलाका प्रहरी कार्यालय कोहलपुरलाई उद्धृत गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए । ‘विद्यार्थीले आगजनी गरेका कारण ट्रक पूर्णमा जलेको छ, स्थिती अझै नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने ।
तत्काल कफ्र्यु जारी गर्ने अवस्था भने नभएको निमित्त प्रजिअ उपाध्यायले बताए । प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको बताए । झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताईएको छ ।