भिजिट नेपाल प्रवर्द्धनमा प्रदेश १ मा चार सद्भावना दूत नियुक्त

काठमाडौं । प्रदेश १ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रका ख्यातीप्राप्त चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ ।
प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्राधाविक मिरा राई, हाँस्यकलाकार दीपाश्री निरौला र पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो ।
प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उनीहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री राईले प्रदेश–१ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गरे । मुख्यमन्त्री राईले प्रदेश–१ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी समेत दिए ।
‘भिजिट नेपाल २०२०’ मा प्रदेश सरकारले आफ्नो प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए ।
कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले पनि भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे । उनले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार