बेलायती प्रधानमन्त्री जोन्सन पिता बने

लन्डन ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको छ ।

लन्डनको एक अस्पतालमा मंगलबार बिहान ‘स्वस्थ’ शिशुको जन्म भएको तथा आमा र शिशु दुवैको अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गराएका छन् ।

कोरोनाको संक्रमणबाट निको भएर काममा फर्किएको २ दिनभित्रै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन नयाँ सन्तानका पिता बनेका हुन् ।

त्यसो त उनकी ३२ वर्षीया प्रेमिका क्यारीलाई पनि कोरोना संक्रमणका सामान्य लक्षणहरु देखिएर ‘आइसोलेसन’ मा बसेकी थिइन् ।

२५ वर्ष लामो वैवाहिक सम्बन्धपछि सन् २०१८ मै  पत्नी मरिना मिलरबाट अलग भएका थिए जोन्सन । तर, उनीहरुको पारापाचुकेको  प्रक्रिया गत फेब्रुअरीमा मात्रै टुंगिएको थियो ।

वैवाहिक सम्बन्धबाट अलग भएपछि उनले क्यारी साइमन्ड्ससंगको प्रेमजीवन शुरु गरेका थिए ।  यो जोडी एक अर्कासँग ’इङेज्ड’ भएपनि अझै अविवाहित नै छ ।

बेलायतको इतिहासमा ‘१० डाउनिङ स्ट्रिट’ स्थित प्रधानमन्त्री निवासमा अविवाहित प्रेमिका भित्र्याउने जोन्सन नै पहिलो प्रधानमन्त्री हुन् ।

जोन्सनकी पूर्व पत्नी मिलरका साथमा २ छोरा र २ छोरीसहित ४ सन्तान छन् । पछि अन्य प्रेमिकाहरुबाट पनि जोन्सन १ वा २  थप सन्तानका पिता बनेको बेलायती मिडियाले जनाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटी पढ्ने बेलाकी प्रेमिका एलेग्रा मोस्टिन ओवेनसँग सन्  १९८७ मा भएको जोन्सनको पहिलो विवाह ६ वर्षमै टुटेको थियो ।

पहिलो विवाह तोडिएको २ सातामै उनले आफ्नो बाल्यकालदेखिकै साथी मरिना मिलरसँग दोस्रो विवाह गरेका थिए ।

दोस्रो पत्नी मिलरसंगको २५ वर्ष लामो वैवाहिक सम्बन्धका बीचमा पनि जोन्सनको थुप्रै महिलाहरुसँग नाम जोडिने गरेको थियो ।  त्यही क्रममा उनी थप एक वा दुई सन्तानको पिता समेत बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार