विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् । अश्वेत समुदायले सञ्चालन गरेको व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यका साथ उनले ‘ब्ल्याक परेड’ नामको गीत रिलिज गरेकी हुन् ।
अश्वेत समुदायको इतिहास, प्रहरीले समुदायमाथि गरेको दमन र जर्ज फ्लोइडलाई न्याय दिलाउन गरिएको प्रदर्शनलाई गीतको शब्दमा बुनिएको छ । अमेरिकामा दास प्रथा अन्त्य भएको ‘जुनटिन्ट’ को अवसरमा गीत सार्वजनिक गरिएको हो । ‘जुनटिन्ट’लाई अश्वेत समुदायले स्वतन्त्रता पाएको दिनका रूपमा समेत मनाउने गरिएको छ ।
अमेरिकामा केही साताअघि प्रहरीले नियन्त्रणमा लिने क्रममा अश्वेत समुदायका जर्जको मृत्यु भएपछि विश्वभर भएको विरोध र रङ्गभेद विरुद्धको आन्दोलनलाई समर्थन गर्दै गीतलाई अश्वेत प्रति समर्पित गरिएको हो । गीत सार्वजनिक गर्दै बियोन्सेले अश्वेत समुदायमाथि भइरहेको अन्याय बन्द हुनुपर्ने माग गरेकी छिन् ।