लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेको विरोधमा संसद् र सार्वजनिक रूपमा अभिव्यक्ति दिने सांसद सरिता गिरीसँग समाजवादी पार्टीले स्पष्टीकरण लिने भएको छ । गल्ती स्वीकार गर्दै चिक्तबुझ्दो स्पष्टीकरण नदिए उनीमाथि संसद् र पार्टी दुवै पदबाट कारबाही गर्ने समाजवादी पार्टीले निर्णय लिएको छ ।
पार्टी पदाधिकारीको सोमबारको बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय लिएको नेता गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘हामीलाई गिरीका विषयमा स्पष्टीकरण सोध्न संसदीय दलबाट पत्र प्राप्त भएको थियो । त्यसैले अहिले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । सांसदले के-के गरेको हो प्रमुख सचेतकले पार्टीलाई जानकारी गराउनुपर्ने प्रक्रिया हुँदोरहेछ । यो जानकारी हामीलाई दलबाट प्राप्त भयो । यसको आधारमा स्पष्टीकरण लिनुपर्ने र यसपछि कारबाहीको प्रक्रिया बढाउनुपर्ने रहेछ ।
त्यसैले आजको बैठकले स्पष्टीकरण सोधेपछि उहाँको धारणापछि कस्तो कारबाहीमा जाने भन्ने टुंगो लाग्छ । सात दिनभित्र स्पष्टीकरण सोध्न हामी मंगलबारसम्म पत्र पठाउँछौँ ।’