पुटिनलाई सन् २०३६ सम्म शक्तिमा रहने बाटो खुल्यो

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ।

झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनेछन्।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो।

नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ।

संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका थिए। त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो।

सुरूमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि गत जुन १ का लागि तय गरिएको थियो। तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो।

मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ।

प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको हो।

६७ वर्षिय पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आइरहेका छन्। उनी रुसी जनतामाझ लोकप्रिय छन्।

उनलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार