सुशान्तको ‘दिल बेचारा’को ट्रेलरले कायम गर्यो नयाँ रेकर्ड

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’को ट्रेलर सोमवार सार्वजनिक भयो । गत १४ जुनमा आफ्नै निवासमा आत्महत्या गरेका सुशान्तले अभिनय गरेको अन्तिम चलचित्रको ट्रेलरले सार्वजनिक भएको एक दिन पनि नबित्दै युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

 

सुशान्त र अभिनेत्री सन्जना सांघीको मुख्य अभिनय रहेको फिल्म ‘दिल बेचारा’ को ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । ट्रेलर सार्वजनिक भए लगत्तै दर्शकले निकै रुचाएका छन् ।

 

यति बेला सम्म ट्रेलरमा ५ .६ मिलियन भन्दा बढी लाइक आइसकेको छ । भने २ करोड ५६ लाख भन्दा बढी पटक हेरिसकिएको छ । यसअघि भारतीय चलचित्र ‘जिरो’लाई २० लाख लाइक मिलेको थियो । जोन ग्रिनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित यस चलचित्रलाई मुकेश चब्राको निर्देशन रहेको छ ।

 

चलचित्रमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त डुबेका छन् । चलचित्रमा दुईको केमेस्ट्री निकै मिलेको देख्न सकिन्छ । यस चलचित्र जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ ।

 

‘दिल बेचारा’ सन् २०१४ को सफल अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । बलिउडका सशक्त अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र भएका कारण पनि दर्शकले यसलाई निकै प्रतीक्षा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार