लण्डन । नेपाली समाजमा र्याप गीत, संगीतलाई राम्रो मान्दैन । र्याप गीतलाई धेरैले छाडा सँस्कृतिको रूपमा चित्रण गर्ने गर्छन । तर यसको छुट्टै बिशेषता भएकाले नेपाली समाजमा पनि र्याप गीत, संगीतको आफ्नै फ्यान, फ्लो र दर्शक छ ।
र्याप गीत, संगीत रमाइलो मात्र नभई सन्देश र चेतना दिन सकिने उदाहरण एक युवाले दिएको छ । बेलायती सैनिकमा कार्यरत २९ बर्षीय युवा किरण प्रताप राईले र्याप गीतबाट समसामयिक बिषयहरुमा चेतना दिईरहेको छ । सैनिक जीवनको व्यस्त समयबाट फुर्सद निकालेर राईले नेपाली र्याप संगीतको बिकासमा टेवा दिने काम गरिरहेका छन ।
कतिपयले र्याप गीतलाई किशोरवस्था र भर्खरैको युवा अवस्थामा प्रवेश गरेकाहरुलाई रमाईलो गर्ने साधनको रूपमा मात्रै मान्ने गरेका छन । तर किरण प्रताप राईले भने समसामयिक घटनाहरूलाई र्याप संगीतमा प्रस्तुत गरेर छुट्टै पहिचान दिएका छन । राईले कारूणिक बिषयबस्तुलाई र्यापको माध्यमबाट मर्म स्पर्शी बनाउन सकिन्छ भन्ने उदाहरण मात्रै होईन प्रमाणित नै गरेर देखाएको छ ।
उनको पछिल्लो उदाहरणको रूपमा विश्वव्यापी महामारी कोरोना भाइरस (कोविड १९)को सन्देशमुलक र्याप र रूकुममा भएको मानवीय नरसंहारको बिषयबस्तुलाई पस्केर छुट्टै सन्देश दिएका छन ।
विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसले धेरै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । कोरोना भाइरस (कोविड १९)को महाविपतमा सुरक्षित रहन, उच्च मनोवल बनाउन र घरेलु विधिबाट उपचार गरेर जीवन रक्षा गर्ने जस्ता कुराहरू र्यापबाट सन्देश दिएका छन ।
रूकुमको चौरजहारी नगरपालिकाको सोतीमा भएको मानवीय नरसंहारमा मृत्य भएका नवराज विकको अम्मर प्रेमलाई पनि र्यापबाट ‘प्रेमको बलिदान’ र आफन्तहरूलाई सहानुभुति प्रकट गरेका छन ।
सानै उमेरदेखि गीत, संगीतमा रुचि राख्ने किरण प्रतापले लोक, आधुनिक, पप र दोहोरी सबै खालको गीत संगीतमा रुचि र चासो दिन्छन । ‘संगीतले सकरात्मक सन्देश दिने भएकाले यसप्रति मेरो रुचि धेरै बढेर गएको छ ।’ उनले भने -‘त्यसमध्ये पनि र्याप संगीतले मलाई उत्प्रेरणाा दिने गर्छ । र्याप गीत मेरो परिचय हो । त्यसैले पनि मलाई र्याप गीतले तान्यो ।’
र्याप गीत, संगीतलाई धेरै युवाहरूले रूचाउने गरेको छ । सानै उमेरदेखि विभिन्न बिधाहरूमा अब्बल रहेका किरण प्रताप राम्रो ‘फुटबल खेलाडी’ समेत हुन । उनले सानै उमेरमा राष्ट्रिय स्तरको खेलहरूमा समेत सहभागिता जनाएर आफ्नो क्षमता प्रर्दशन गरिसकेका छन । उनले सानै उमेर हुदाँ केन्यामा समेत गएर फुटबल खेल खेलेको थिए ।
‘मलाई फुटवलले जसरी मज्जा दिन्छ, संगीतले छुट्टै अनुभुति र उर्जा पैदा गर्छ । आफुलाई लागेको कुराहरू व्यक्त गर्न सजिलो हुने भएकाले पनि र्याप गीत रोजेको हो ।’ उनले भने- ‘जवदेखि मैले र्याप गीत गर्न थाले, म मान्छे बन्दैछु भन्ने लाग्यो । यसले त मेरो वास्तविक जीवनमा सकरात्मक उर्जा नै पैदा गरेको छ ।’
बहुविधागत क्षेत्रमा ज्ञान भएका उनले चर्चित बन्न, पैसा कमाउन, यसैमा करियर निर्माण गर्छु नभई सकारात्मक सन्देश प्रवाह गर्न र्याप गीत गरिरहेको उनले बताए ।
सैन्य पेशामा संलग्न किरण प्रताप ‘बक्सिङ खेलाडी’ पनि हुन । व्यस्त जीवनबाट निस्केको फुर्सद समयलाई सदुपयोग गरेर बहुगत बिधालाई अंगालेका उनले आफुलाई हरेक क्षेत्रमा अब्बल रुपमा प्रस्तुत गर्ने गरेका छन । आफ्नो मनको कुराहरूलाइ गीतबाट व्यक्त गर्न सजिलो हुने भएकाले र्याप गीतलाई निरन्तर दिदै जाने सोच उनको रहेको छ ।