सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीबीआईको हातमा पुगेको छ । यसै साता केन्द्र सरकारले अनुमति दिए पछि यस घटनामाथि अनुसन्धान गर्न सीबीआई लागी परी सकेको छ ।
आइपिएस अधिकारी मनोज शशिधरको नेतृत्वमा सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान टोली गठन गरिएको छ । गत जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा सुशान्त भेटिएका थिए । मुम्बई प्रहरीले आत्महत्या भएको पुष्टि गरिसकेको थियो । सुशान्तको कोठाबाट मानसिक स्वास्थ्य उपचार सम्बन्धी कागजपत्र भेटिएको बताइएको थियो र उनको मृत्युको कारण डिप्रेसन भएको चर्चा थियो । तर उनका शुभचिन्तक तथा परिवारले यो आत्महत्या नभएर योजना बद्ध हत्या भएको आवाज उठाएर सीबीआई जाँचको माग गरिएको थियो ।
अनुसन्धानलाई अगाडी बढाउने क्रममा सीबीआईले बिहीबार अभिनेत्री रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । रियाका भाइ सोविक, बुवा इन्द्रजि, आमा सन्ध्या, सुशान्तका व्यवस्थापकहरू स्यामुयल मिरन्डा र श्रुती मोदीविरुद्ध पनि उजुरी दर्ता भएको हो । यस अघी सुशान्तका बुवा केके सिंहले विहार प्रहरीमा रिया चक्रवर्तीविरुद्ध धोका, पैसा हडपेको, डर धम्की देखाएको लगायत आरोपसहित उजुरी दिएका थिए । सीबीआईले उनीहरूलाई आत्महत्या दुरुत्साहन, आपराधिक षडयन्त्र, चोरी, धोका, धम्की लगायत आरोप सहित उजुरी दर्ता गरेको हो ।