भारतमा बुधबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए, कायम गर्‍यो नयाँ विश्व रेकर्ड

भारतमा एकै दिन आजसम्मकै धेरै संक्रमित फेला परेका छन्। बुधबार एकै दिन ८३ हजार २९ जना नयाँ संक्रमित पुष्टि भएपछि उसले यसअघि एकै दिन फेला परेका संक्रमित संख्यामा नयाँ अंक कायम गरेको हो।

 

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा तेश्रो पटक एकै दिन धेरै संख्यामा संक्रमित पुष्टि भएका हुन्। यी सबै नयाँ तथ्याकं पछिल्ला चार दिनमा कायम भएको हो। यो संख्याले भारतमा कोरोनाको संक्रमण अझै तीब्र गतिमा फैलिरहेको छ भन्ने तर्फ ईंगित गरेको छ।

भारतमा भेटिएको यो संख्या महामारी सुरू भएयता विश्वका कुनै पनि मुलुकमा भेटिएको उच्च संख्या हो। भारत अघि अमेरिकामा पहिलोपटक विश्वमा नै धेरै संक्रमित फेला परेका थिए। अमेरिकामा जुलाई १६ मा विश्वमा नै सबैभन्दा धेरै संक्रमित फेला परेको जोन्स हप्किन्स विश्वविध्यालयको तथ्यांक छ।

 

सो दिन ७७ हजार २ सय ५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। अमेरिकाको सो आंकडालाई भारतले अगस्ट २९ मा उछिनेको थियो। सो दिन भारतमा ७८ हजार ९ सय ३ जना संक्रमित फेला परेका थिए।

बुधबार नयाँ आँकडा कायम गरेको भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा फेला परेका हुन्। त्यहाँ १७ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ। महाराष्ट्रमा यो संख्यामा संक्रमित पहिलोपटक फेला परेको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ। यसअघि अगस्ट १६ मा पनि त्यहाँ धेरै संख्यामा संक्रमित फेला परेका थिए।

 

भारतमा बुधबार १ हजार २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण हुने मृत्यु ६७ हजार ४ सय १५ पुगेको छ। यसमा महाराष्ट्र राज्यको हिस्सा मात्र ३७ प्रतिशत छ। महाराष्ट्र भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य हो।

 

भारतको केन्द्रीय सरकारको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या ३८ लाख ४५ हजार ५९ रहेको छ। यो संख्यामा सक्रिय केसको संख्या भने ८ लाख १७ हजार १ सय ९३ रहेको छ। बाँकी संक्रमित भने निको भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार