गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।
एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि खोपको परीक्षण तत्काल रोकी परीक्षणमा सम्लग्न विरामीलाई खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा उनलाई अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोप उपलब्ध गराउन सम्भव छ ।”
“परीक्षणमा सम्लग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो ।
सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य बताएको छ ।
“परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,” सारियटले भने ।
अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो ।
कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ ।