विचौलियाबाट हैरान किसान, मलमा बढ्दो कालोबजारी

  सिलिचुङ सम्बाददाता

प्रहरीले बरामद गरेको मिनीट्रक र मल

 

भोजपुर । कोरोनाको त्रास एकातिर अर्कोतिर बालीनालीमा लगाउने मल अभाव झेलिरहेका किसानहरु बिचौलियाबाट हैरान भएका छन् । जिल्लाको पूर्वी अरुण गाउँपालिकामा रासायनिक मलमा कालोबजारी भेटिएको छ । स्थानीय व्यापारीले तोकिएको मुल्यभन्दा चारगुणा बढि मुल्यमा रासायनिक युरिया मल किसानलाई बिक्री गरेको पाईएको हो ।
अरुण गाउँपालिका ५, याकुस्थित स्थानीय खुद्रा व्यापारी अर्जुन कटुवालले ७ सय ८५ मूल्य पर्ने रासायनिक मल प्रतिबोरा २ हजार ५ सयमा किसानलाई बेचेको पार्ईएको हो । मनपरी मुल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । व्यापारी कटुवाल भने सम्पर्कविहिन रहेको प्रहरी बताएको छ ।
गत बुधबार राती व्यापारी कटुवालले अनाधिकृत रुपमा ‘उत्तम ब्राण्ड’ को ४० बोरा उक्त युरिया मल अरुण गाउँपालिका ५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केहि युवाहरुले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाएका थिए । गाउँमा अनधिकृत मल विक्रि हुदैछ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट गएको प्रहरी टोलीले मलको बोरा रहेको को १ ख ३४६६ नम्बरको उक्त मिनीट्रक नियन्त्रणमा लिएको प्रहरी निरिक्षक प्रदीप लामाले बताए ।
कोरोनो महामारीका बेला खाद्यान्न र मालबाहकका सवारी साधानलाई जिल्ला प्रवेश गराउने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय भएपनि समितिको निर्णयलाई उल्लघंन गर्दै मोरङको सलकपुरबाट व्यापारी कटुवालले रातारात मल ल्याई चारगुणा बढि मुल्यमा किसानलाई मल बिक्रि गरेको खुलेको हो । यसअघि पनि प्रहरीले अरुण गाउँपालिकाकै जरायोटारको भर्लाबोटस्थित अनुदानका लागि ल्याईएको ५३ बोरा मल अनाधिकृत रुपमा बेचिएको अवस्थामा ट्रकसहित व्यापारी र ठेकेदारलाई नियन्त्रणमा लिएको थियो ।
कृषकले सहुलियत दरमा मल प्राप्त गर्नुपर्ने पक्षमा आफु रहेको र बढि मुल्यमा जो कोहिले बिक्रि गरेको भए छानविन गरी कार्वाहिको दायरामा ल्याउने अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए ।

कसले ल्यायो मल ?
मल ल्याएर आउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी झुक्याएर गाडी प्रवेश गराएका थिए । तर ओदानेमा गाडी रोकिएपछि चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी अर्जुन कटुवालले मल ल्याएको बताएका थिए । उक्त मलको कुनै पनि पुर्जा नहुँदा कहाँबाट कति मुल्यमा मल ल्याएको भन्ने खुलेको छैन ।
उक्त मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामग्रीमा ४० बोरा मल लुकाएर ल्याईएको थियो । यसअघि पनि कटुवालले मल बिक्रि गर्दा वास्तविक मूल्यभन्दा तेब्बर बढि मुल्यमा बेचेको खुलेको छ । स्थानीय खुद्रा व्यापारीसमेत रहेका कटुवालले कोरोनाको बन्दमा पनि गाउँमा मनपरी मुल्यमा मल बेच्दै आएका थिए । गाउँमा मलको हाहाकार भएपछि कटुवालले तोकेकै मुल्यमा किसानले मल किन्न बाध्य भएको स्थानीय नवराज फुयाल गुनासो गरे ।

आधिकारीक सप्लायर्सलाई नै मल छैन
गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपि सप्लायर्सलाई ठेक्का दिएपनि कोरोना महामारीका कारण साल्ट ट्रेडिङको डिपोले मल नदिएको बताएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार गाउँपालिकाका लागि ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गर्नुपर्ने सप्लायर्सका सञ्चालक निर्मला शेर्पाले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार