अमेरिकी अभिनेत्री तथा बेलायती राजकुमार ह्यारीकी पत्नी मेगन मर्केलले आफू सन् २०१९ मा संसारमै सबभन्दा धेरै ‘ट्रोल’ हुने व्यक्ति भएको बताएकी छन्।
‘सन् २०१९ मा इन्टरनेटमा सबभन्दा बढी ट्रोल हुने व्यक्ति म हुँ भनेर मलाई बताइएको छ,’ सिएनएनले उनका भनाइ उद्धृत गर्दै लेखेको छ।
मेगनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा ह्यारीसँगै दिएको अन्तर्वार्तामा यी कुरा भनेकी हुन्। उनले इन्टरनेटमा किशोरकिशोरीहरूले सामान गर्ने दुर्व्यवहारसँग जोड्दै आफ्ना अनुभव बताएकी हुन्।
मेगनले यसबारे थप भनेकी छन्, ‘जब म आमा भएँ, इन्टरनेटमा यति धेरै नकारात्मक कुराहरू आए, त्यो सहनै गाह्रो थियो। यसरी मान्छेको मजाक बनाउनेहरू जुनसुकै उमेरका होऊन्, मलाई मतलब छैन। कुनै पनि व्यक्तिका बारेमा नभएका कुरा फैलाउँदा मानसिक र भावानात्मक असर धेरै पर्छ।’
सिएनएनका अनुसार इन्टरनेटमा चलेका यस्ता कुरालाई आफूलाई कुनै प्रभाव पर्न नदिन उनले सुझाव दिएकी छन्। सबैलाई खुसी र स्वस्थ्य रहने अधिकार भएको भन्दै उनले नकारात्मक कुरा गर्नेहरूलाई पनि आफ्नो जीवनको सार बुझ्न सुझाएकी हुन्।
ह्यारी र मेगनले मानसिक स्वास्थ्य दिवसका दिन किशोरकिशोरीहरूसँग सामाजिक सञ्जालमार्फत् भिडिओ कुराकानी गरेका थिए। मेगनले अधिकांश कुरा कोरोना महामारीमा आइसोलेसन बस्दा र अनलाइन दुर्व्यवहारबारे बोलेकी थिइन्।
‘हामी सबैलाई थाहा छ कि हाम्रो भावनामा चोट लाग्दा कस्तो हुन्छ। महामारी समयमा झन् आइसोलेसनमा बस्नुको पीडा पनि छ। तर यो जरूरी पनि छ। यस्तो समयमा कोही भइदियोस् भन्ने हुन्छ। तर नआत्तिनुस्, हामी सबै यो समस्यासँग जुधिरहेका छौं। तपाईं एक्लो होइन,’ उनले भनेकी छन्।
ह्यारीले पनि नकारात्मक टिप्पणी र दुर्व्यवहारलाई सकेसम्म वेवास्ता गर्न सुझाउँदै अरूलाई पनि त्यो नगर्न आग्रह गरेका थिए।