केपी ओलीले गरेका सबै एकल र मनोमानी निर्णय फिर्ता लिनुपर्छ : दीपशिखा

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी एकतापश्चात पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल र मनोमानी निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको बताउँदै सो प्रस्ताव फिर्ता लिन अनुरोध गरेलगत्तै दीपशिखाले उक्त प्रतिक्रिया दिएका हुन् ।

 

प्रधानमन्त्रीले आफू आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्विकारोक्ति गर्ने भए मात्रै प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने उनले दाबी गरेका छन् । अन्यथा बैठकमा प्रवृत्तिगत विषयहरुमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हुने दीपशिखाको तर्क छ ।

 

शंकर पोखरेलको ट्विटपछि दिपशीखाले ट्विटरमा लेखेका छन्– ‘पार्टी एकतापश्चात पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्विकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला नत्र बैठकमा प्रवृत्तिगत विषयहरुमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुमात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो ।’

 

यस्तै उनले अगाडि लेखेका छन्, ‘अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरु मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागी विषयहरु प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु (धम्क्याउनु) हो । भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस् । पार्टी कमिटीमा प्रस्तुत विषय कमिटिमै छलफल हुन दिऊँ । जिम्मेवारहरुले फुटको धम्की नदिऊँ ।’

 

त्यसअघि शंकर पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध संगीन आरोपहरु लगाउँदै पार्टीलाई गम्भीर मोडमा पुर्याउने काम प्रचण्डको प्रस्तावले गरेको भन्दै उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

 

पोखरेलले ट्विटरमा लेखेका थिए, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार