काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न भन्दै शीर्ष नेताहरुबीच राजनीतिक लेनदेनको हिसाबकिताब तीव्र बनेको छ ।
यसैबीच प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा आलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बनाउनेसम्मको प्रस्ताव अगाडि सारेको बताइएको छ ।
पार्टीभित्र प्रभावशाली मानिएका नेता नेपालसँग आइतबार बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले उक्त प्रस्ताव अगाडि सार्दै अहिले आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ ।
ओलीले प्रत्यक्ष भेटबाहेक पनि आफ्ना विश्वासपात्रहरुमार्फत नेपाललाई विभिन्न प्रस्ताव पठाउँदै आएको समेत स्रोतको भनाइ छ ।
नेपालले आफूलाई सहयोग गर्दा सचिवालयका प्रभावशाली नेताहरु आफ्नो पक्षमा हुने अध्यक्ष ओलीको विश्वास छ । त्यसो त ओलीले नेपाललाई पछिल्लो पटक नै तीन पटक प्रत्यक्ष भेट गरिसकेका छन् ।
आफू यो कार्यकालबाहेक पार्टी अध्यक्ष वा प्रधानमन्त्री नबन्ने विश्वास दिलाउँदै नेता नेपाललाई आगामी कार्यकालका लागि अध्यक्ष र प्रधानमन्त्री दुबै बनाउन आफूले सहयोग गर्ने प्रस्ताव राखेर नेता नेपाललाई मनाउने प्रयास गरेको स्रोतको भनाइ छ ।
यद्यपि, नेता नेपालले त्यो राजनीतिक लेनदेनमा सहमति नजनाएको बताइएको छ । पार्टीलाई एकतावद्ध बनाएर लैजान र सबै आफ्नो ठाउँमा सच्चिनुपर्ने धारणा नेपालले राखेको स्रोतको दाबी छ ।
यस्तै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव गरिएको विषय पनि बाहिरिएको छ । ओलीले प्रचण्ड, माधव नेपाल र वामदेव गौतमसँग राजनीतिक लेनदेनको प्रयास गर्दै आएका छन् ।
तर, कसैले पनि ओलीको प्रस्ताव सहजै स्वीकार गरिरहेका छैनन् । यसले पार्टीमा दुर्घटना निम्त्याउने चर्चा समे भइरहेको छ ।