राता र नीला राज्य हैन, संयुक्त राज्य वनाउँछुः जो बाइडन

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। शनिवार बोल्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे।

 

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए। ‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु’– उनले भने।

‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,’ उनले भने, ‘जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।’ अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन्।

 

कुनै कानुनी अवरोध सिर्जना नभए उनले आगामी ज्यानुअरी महिनामा पदभार ग्रहण गर्नेछन्। उनीसँगै निर्वाचनमा सहभागी भएकी कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन्।

 

कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडने निर्वाचन जितेको घोषणा गरिएको हो। अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन्।

 

सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ। बाइडन बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए।

बीबीसी नेपालीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार