प्रचण्डलाई विश्वासमा लिने ओलीको रणनीति

काठमाडौं। पार्टी भित्रको विवाद समाधान गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचक हुने संकेत पाएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई मनाउने रणनीति लिएका छन्।

 

दुवै अध्यक्ष टसमस नहुँदा पार्टी क्षयीकरण हुने भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई विश्वासमा लिने रणनीति लिएका हुन्। प्रचण्डसँग सिधै सम्पर्क नगरी ओलीले आफ्ना विश्वासपात्र मार्फत प्रचण्डसँग सम्वाद अगाडि बढाउन थालेका छन्।

 

बिहीबार प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सामान्य छलफल गरेका थिए। नेम्वाङसँगको छलफलमा प्रचण्डले दुवै अध्यक्ष आफ्नो अडानमा कायम रहँदा विवाद झन बढ्ने भन्दै मिलन विन्दु खोजेर अगाडि बढ्नुपर्ने बताएका थिए।

 

बिहीबार प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए। स्रोतका अनुसार राष्ट्रपति भण्डारी दुवै अध्यक्ष मिलेर अगाडि बढ्न सुझाव दिएकी थिइन्।

 

‘दुवै अध्यक्षले मुलभूत रुपमा पार्टी एकता गर्नु भएको हो, यो एकताले पूर्णता नपाउँदासम्म र एकता महाधिवेशन नहुँदासम्म दुवै अध्यक्ष सहमतिबाट अगाडि बढ्नुपर्छ भन्ने उहाँले सुझाव दिनु भयो,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। बिहीबार नै प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिसँग परामर्श गरेका थिए।

 

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि दोस्रो तहका नेता दुई अध्यक्षबीच संवाद गराउन सक्रिय छन्। बिहीबार प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने महासचिव विष्णु पौडेलले पनि लामो छलफल गरेका थिए।

 

स्रोतका अनुसार महासचिव पौडेलले पार्टी विधानमा दुई अध्यक्षको सहमतिमा महासविचले बैठक बोलाउने प्रावधान रहेको उल्लेख गर्दै शनिबार तय गरिएको सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्षको सहमतिमा नयाँ मिति तोक्ने र बैठकको एजेण्डा पनि दुई अध्यक्षको सहमतिमा नै गर्नुपर्ने प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा प्रचण्डले कुनै प्रतिक्रिया नजनाएको स्रोतले दाबी गर्यो।

 

शुक्रबार अध्यक्ष प्रचण्डसँग उपप्रधानमन्त्री इश्वर पोखरेलले पनि लामो छलफल गरे। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पार्टी भित्रको विवाद समाधानका विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

 

प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रमार्फत प्रचण्डलाई विश्वासमा लिने रणनीति लिएको बताइएको छ। त्यसका लागि ओलीले भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गरेर सहमतिको विन्दु खोज्नुपर्ने ओलीको बटम लाइन रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार