रसियामा सर्वसाधारणलाई भ्याक्सिन लगाउन सुरु

रसियाले आफ्ना नागरिकलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । सुरुमा राजधानी मस्कोका सार्वसाधारणलाई यो सेवा उपलब्ध गराएको हो ।

 

पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकता दिएको सरकारले जनाएको छ । रसियाले आफैँले बनाएको स्पुतनिक– ५ भ्याक्सिन प्रयोग गरेको हो । रसिया कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्ने र आपतकालीन प्रयोगका लागि अनुमति दिने पहिलोमध्येको देश हो ।

 

रसियाले गत अगस्टमै स्पुतनिक– ५ भ्याक्सिनलाई दर्ता गरी प्रयोगका लागि मान्यता दिएको थियो । यो भ्याक्सिन निर्माणमा संलग्न विज्ञहरूले स्पुतनिक– ५ भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेका छन् । उनीहरूले यो भ्याक्सिनको गम्भीर खालका कुनै पनि ‘साइड इफेक्ट’ नभएको दाबी पनि गरेका छन् । यद्यपि, यो भ्याक्सिनको परीक्षण ठूलो संख्यामा भएको छैन ।

 

स्पुतनिक भ्याक्सिन दुई चरणमा लगाउनुपर्ने हुन्छ । पहिलो चरणको ‘डोज’ लगाउन हजारौँले नाम टिपाएका छन् । यद्यपि, उनीहरू सबैलाई भ्याक्सिन उपलब्ध हुने सम्भावना कम देखिएको छ । किनभने रसियाले ठूलो संख्यामा भ्याक्सिन उत्पादन गर्न सकिरहेको छैन ।

 

भ्याक्सिन निर्माता कम्पनीहरूले यो वर्षको अन्त्यसम्म २० लाख डोज मात्रै उत्पादन गर्न सकिने जनाएको छ । मस्कोका मेयर सर्जी सोब्यानिनले यसै साताको सुरुवातमा मात्रै सर्वसाधारणका लागि भ्यासिन लगाउन सुरु गर्ने घोषणा गरेका थिए ।

 

उनले पहिलो चरणमा विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक कार्यमा खटिएका व्यक्तिहरूलाई भ्याक्सिन लगाइने जनाएका छन् । त्यसअनुसार नै भ्याक्सिन लगाउन इच्छुक व्यक्तिलाई अनुरोध गरिएको थियो । राजधानी मस्कोमा मात्रै १३ मिलियन जनसंख्या रहेको अनुमान छ ।

 

रसियाले मस्को सहरको विभिन्न ७० स्थानबाट यो सेवा दिन सुरु गरेको छ । भ्यासिन लगाउन इच्छुक व्यक्तिलाई अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा छ । विद्यालय, स्वास्थ्य केन्द्र र सामाजिक कार्यमा खटिएकाहरूमध्ये १८ देखि ६० वर्षका मानिसले भ्यासिन लगाउन निवेदन दिन सक्नेछन् । पहिलो डोज लगाएको २१ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ ।

 

सर्वसाधारण उत्साहित
सर्वसाधारणलाई भ्यासिन लगाउने सेवा दिएको ७० मध्येको एक स्थान केन्द्रीय मस्को क्लिनिकको माहोल पहिलेको भन्दा फरक छ । केही स्वास्थ्यकर्मी, शिक्षकहरूमा कोरोना भाइरसविरुद्धको भ्यासिन लगाइएको छ ।

 

भ्यासिन प्राप्त गर्ने भएपछि उनीहरूमा भिन्नै आशा देखिएको छ । यद्यपि, भ्यासिनको प्रभावकारिता र सुरक्षाबारे अझै अध्ययन हुन बाँकीे छ । यो प्रक्रियामा संलग्न डक्टरहरू संक्रमितको संख्या बढिरहेको अवस्थामा भ्यासिन प्रयोग गरिनु सही निर्णय भएको बताउँछन् ।

 

भ्याक्सिनको पहिलो डोज लगाएका सर्वसाधारणहरू पनि खुसी देखिएका छन् । उनीहरू भ्याक्सिनले आफूहरूमा पर्न सक्ने असरबारे खासै चिन्तित देखिँदैनन् । आमरूपमा परीक्षण नगरिएको भ्याक्सिन लगाएकोबारे सोध्दा एकजना महिला भन्छिन्, ‘यो प्रक्रिया कहीँ न कहीँबाट सुरु हुनु नै थियो । त्यसमा सहभागी हुन पाउँदा खुसी छु ।’

 

मस्कोमा धेरै मानिसले स्वयंसेवी रूपमै भ्याक्सिन प्रयोग गर्न तयार भएको जनाएका छन् । भ्याक्सिन लगाउनुभन्दा पहिले उनीहरूलाई स्वास्थ्यबारे केही सामान्य प्रश्न सोधिने गरिएको छ । भ्याक्सिन प्रयोग गर्नुभन्दा १५ मिनेटअघि मात्रै फ्रिजबाट निकालिनेछ । उनीहरूलाई भ्याक्सिन लगाएपछि हुने सामान्य साइडइफेक्टबारे पनि जानकारी दिइने गरिएको छ ।

 

सबैका लागि भ्याक्सिन
सर्वसाधारणका लागि भ्यासिन लगाउन सुरु गरिएको समाचारले रुसी जनतामा ठूलै खुसी छाएको छ । यद्यपि, सबैलाई पुग्ने गरी भ्यासिन उत्पादन गर्न नसकेकोमा उनीहरूको गुनासो छ ।

 

मस्कोका इगोर क्रिभोबोकोभले रोयटर्ससँग भनेका छन्, ‘यो प्रक्रिया सुरु भएको समाचारले मलाई साँच्चिकै खुसी लागेको छ । यसबाट संक्रमण रोकिनेछ । यसले संक्रमणको एउटा ठूलो भेललाई रोक्नेछ ।’

 

अर्का सर्वसाधारण सर्जी ग्रिसिनको तर्क भने फरक छ । उनी भन्छन्, ‘यो प्रक्रिया अझै लामो समय चल्नेछ । निकै थोरै संख्यामा मात्रै भ्याक्सिन उत्पादन भएको छ । सबैले भ्याक्सिन लगाउन पाउनुपर्छ । त्यसपछि मात्रै यो प्रक्रियाले फरक पार्न सक्छ ।’

 

रसियामा अहिलेसम्म २४ लाख ३१ हजार सात सय ३१ संक्रमण देखिएको छ । संक्रमणबाट ४२ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ । शनिबार मात्रै २८ हजारभन्दा बढी संक्रमित भेटिएको थियो । मस्को कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित रसियाली सहर हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार