राष्ट्रपति भण्डारी र देउवाबीच शितलनिवासमा भेट, राजावादी आन्दोलनको विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति बिद्यादेवि भण्डारी र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्बप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

 

राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र देउवाबीच करिब डेढ घण्टा लामो छलफल भएको शितलनिवास स्रोतले जनाएको छ । मंगलबार दिउँसो करिब १६ः४० मा शितलनिवास पुगेका देउवा र राष्ट्रपतिबीच करिब १८ः०५ बजेसम्म छलफल भएको थियो।

 

छलफलमा पछिल्लो समयको राजनीति घट्नाक्रम, नेकपाको आन्तरिक विवाद र काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा राजतन्त्र पक्षधरको प्रदर्शन बढेपछि त्यसका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले देउवालाई पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन्। यसमा देउवा सकारात्मक रहेको स्रोतको दावी छ ।

 

पछिल्लो समय संवैधानिक निकायका नियुक्तिका लागि सहमती जुट्न सकिरहेको छैन । संवैधानिक निकायका नियुक्तिका लागि प्रमुख प्रतिपक्ष दलको पनि सहमति आवश्यक पर्छ । तर पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा कतिपय संवैधानिक निकायहरुका पद रिक्त रहेका छन् ।

 

पछिल्लो समय सरकारको आलोचना बढिरहँदा राष्ट्रपति भण्डारी र देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार नै सर्वदलीय बैठक बोलाएर संविधान विरोधी शक्तिका विरुद्ध एक हुन सम्पूर्ण राजनीतिक दलहरुलाई आह्वान गरेका थिए।

 

यसअघि नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा सत्तासाझेदारीको समेत कुरा चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार