फाइजरको साइड इफेक्ट- के भन्छन् विज्ञहरु?

गत मंगलबार अर्थात मंसिर १७ गते बेलायतमा कोरोना भाइरस विरुद्ध बनेको खोप फाइजरले स्वीकृति पायो। सोही दिनदेखि बेलायतमा ठूलो परिमाणमा खोप दिने कार्य सुरु भएको थियो। कोरोना विरुद्धको स्वीकृत खोप लञ्च गर्ने बेलायत विश्वकै पहिलो देश बन्यो।

 

कोरोना भाइरस विरुद्धको खोप विश्वकै लागि नयाँ हो। बेलायतमा खोपले स्वीकृति पाएसँगै विश्व केही आशावादी बनिरहेको छ। तर यही बेला फेरि एकपटक मानिसहरु त्रसित बनिरहेका छन्, कारण मंसिर २४ गते बेलायतमा खोप लगाएका दुई जना बिरामी परेको खबर बाहिरिएको थियो। उनीहरुमा एलर्जीको समस्या देखिएको छ। खोप लगाएकामध्ये अहिलेसम्म दुई जनालाई मात्र यो समस्या देखिएको बताइएको छ।

 

खोप लगाएका दुवै जना स्वास्थ्यकर्मी हुन्। दुई जनामा एलर्जी देखिएपछि बेलायतको औषधि नियामक निकायले यो विषयलाई गम्भीरताका साथ लिएको छ। तत्कालको लागि नियामक निकायले पहिलेदेखि नै एलर्जीको समस्या भएकाहरुलाई भ्याक्सिन नलगाउन भनेको छ।

बेलायतको स्वास्थ्य विभागले चेतावनी जारी गर्दै कुनै पनि औषधि, खाना वा खोपबाट एलर्जीको समस्या भएकाहरुलाई यो खोप नलगाउन उल्लेख समेत गरेको छ। खोपका कारण सबैलाई एलर्जी हुन्छ भन्ने दाबी सत्य नभएको विज्ञहरुले बताएका छन्। विज्ञहरुका अनुसार पछि–पछि खोप लगाउँदै जाँदा एलर्जीका समस्याहरु अरु पनि देखिन सक्छन्,यस्तो कुरालाई अप्रत्याशित मान्ने वा डराउनु हुँदैन।

 

कोरोना भाइरस विरुद्ध बनेका खोपहरुको बारेमा निर्माण कम्पनीहरुले धेरै कुरा नबताएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए।

उनले भने, ‘हामी सेफ्टी प्रोफाइल भन्छौँ, त्यो कम्पनीहरुले राम्रोसँग दिएका छैनन्। खोप लगाउँदा सामान्य एलर्जी हुनेदेखि लिएर ठाउँको ठाउँ मृत्यु हुने पनि हुन सक्छ। त्यो कति जनामा हुन्छ? कोही बेहोस भएपछि भएको भयै हुने पनि हुन्छ। पहिला पनि स्वाइन फ्लूको खोप आउँदा नेपालमा ल्याउने भनेर तयार पारिएको थियो। हामीले थाहा पायौँ- १० हजार जनामा दुईदेखि तीन जना जिन्दगीभर बेहोस हुने रहेछन्। यो कुरा थाहा पाएपछि हामीले विश्व स्वास्थ्य संगठनलाई चिठी लेखेर नल्याउन अनुरोध गरेर रोकेका थियौँ।’

 

खोप भन्ने बित्तिकै सुरक्षित नै हुन्छ भनेर ढुक्क हुन नहुने डा. मरासिनी बताउँछन्। ‘खोप पूर्ण रुपमा सुरक्षित हुन्छ भन्ने हुँदैन। यसमा सेफ्टीका कुराहरु आउँछन्। बच्चाहरुको डिपिटी खोप लगाउँदा पनि एलर्जी भएको बच्चाहरुलाई लगाउन नहुने अवस्था छ। यसले सिभियर एलर्जी भएर ज्यानै लिन सक्छ। दुई–तीन मिनेटमै बच्चाको मृत्यु हुन सक्छ’, उनी भन्छन्, ‘यसकारण एलर्जी भएका व्यक्तिले यो खोप लगाउँदा ‘साइड इफेक्ट’ हुन सक्ने भएका कारण नलगाउन आग्रह गरिएको हुन सक्छ। तर यसको ‘साइड इफेक्ट’ कति छिटो हुने र कति जनामा देखिने भन्ने कुरा बाहिर आइसकेको छैन। करिव ८–१० लाख मानिसहरुले यो खोप लगाएपछि कस्तो ‘साइड इफेक्ट’ देखिने रहेछ भनेर थाहा हुन सक्छ।’

 

यस्तै अहिले एलर्जी भनेर दुई वटा केसमा देखिएका कारण अनुसन्धान नभई अहिले केही पनि भन्न नसक्ने बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीले बताए।

 

उनले भने,‘त्यही खोपले हो वा अन्य केही कुराले हो अनुसन्धान नभई हामीले केही भन्न मिल्दैन। नेपालमा हामीले के गर्छौँ भने डिपिटी खोप लगाउँदा पहिलो मात्रा केही पनि नसोधेर लगाउँछौँ। दोस्रो मात्रा लगाउँदा सोध्छौँ, ‘पहिलो मात्रा लगाउँदा एलर्जी भएको थियो? भएको थियो भने लगाउँदैनौँ।’

 

डा. उप्रेतीले थपे, ‘कोरोना भाइरस विरुद्धको खोप प्रयोग भइरहेको छ। यो नयाँ खोप हो। खोपकै कारणले हो वा अन्य कारणले हो ठ्याक्कै भन्न सकिदैन। एलर्जी जुनसुकै कुराले पनि हुन सक्छ।’

 

कुनै पनि खोप दिइसकेपछि पाखुरा दुख्ने, ज्वरो आउने, एलर्जी हुने उनी बताउँछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार