लण्डन । सोमबारदेखि बेलायतमा जेनेरल प्राक्टिसन (जीपी)बाट पनि कोरोना भाइरसविरुद्ध फाइजर र बायोनटेकले बनाएको खोप दिन शुरु गरेको छ ।
सोमबारबाट छानिएका १ सय जीपीहरुले र मंगलबारबाट थप १ सय जीपीहरुले सो खोप उपलब्ध गराउने बताइएको छ । बेलायतभरका सबै जीपीमा भने खोपको सुविधा उपलब्ध छैन । बेलायतमा १ हजार २ सय जीपी रहेको बताइएको छ । बाँकी जीपीहरुमा पनि क्रमश खोप लगाउने सेवा उपलब्ध गराउने भएको छ ।
शुरुमा जीपीले ८० वर्ष माथिका मानिसहरुलाई र स्थानीय क्षेत्रको अवस्था अनुसार जोखिममा रहेका अल्पसंख्यक समुदाय वा अन्यलाई पनि खोप दिने भएको छ ।
खोप लगाउनका लागि बोलाइएका मानिसहरुलाई सामान्यतया अरु प्रकृतिका रोगीलाई जस्तै प्रक्रियामा खोप लगाउने व्यवस्था गरेको छ । खोप लगाइसकेपछि १५ मिनेटसम्म जीपीमै बस्नुपर्नेछ । खोपबाट शरीरमा कुनै असामान्य प्रतिक्रिया उत्पन्न हुन्छ कि भनेर यसो गरिएको बताइएको छ ।
स्वाथ्यकर्मीहरुले विगतमा एलर्जीको बिरामी भएकाहरुलाई खोप नलगाउनका लागि सुझाव दिएका छन् । बेलायतमा गत सातादेखि खोप लगाउन शुरु गरिएको हो । शुरुमा ५० वटा अस्पतालबाट खोप लगाउन शुरु गरिएको थियो ।
सरकारले कुन समूहलाई शुरुमा खोप दिने भन्ने प्राथमिकताका आधारमा सूची यसअघि नै बनाइसकेको छ । बेलायतमा गत साता फाइजर र बायोनटेकले उत्पादन गरेको ८ लाख डोज खोप आइसकेको छ । थप डोज यसैमहिना आउने बताइएको छ ।