लण्डन । बढदो कोरोनाभाइरस संक्रमण नरोकिएपछि सरकारले लण्डनमा थप कडा प्रतिवन्धहरु लगाउने भएको छ । बेलायतमध्ये कोरोनाभाइरसको उच्च जोखिममा रहेको लण्डनलाई थप कडाप्रतिवन्ध लगाउने तयारी सरकारले गरेको छ ।
सरकारले यसअघि नै उच्च जोखिममा रहेको लण्डनलाई अति उच्च जोखिम क्षेत्रको घोषणा गर्दे कडा प्रतिवन्ध लगाउने भएको हो । त्यसको लागि काउन्सिल लिडरहरुलाई निर्देशन समेत दिइसकेको छ । स्थानीय काउन्सिल नेतृत्वहरुले अझ थप कडाई गर्नुपर्ने मत जाहेर गरेको वीवीसीले जनाएको छ ।
लण्डनलाई अति उच्च जोखिम घोषणा र सोही अनुसारको प्रतिवन्ध लगाउने बारे भने सरकारले ठोस निर्णय गरिसकेको छैन । यसबाट सरकारले चाडै घोषणा गर्ने अनुमान गरिएको छ ।
एक महिना लामो लकडाउन गत डिसेम्बर २ बाट खुला गरेसंगै सरकारले इंग्ल्याण्डमा संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा क्षेत्रगत वर्गीकरण गरी सोहीअनुसार प्रतिवन्धहरु लागू गरेको थियो ।
अति उच्च रहने क्षेत्रहरुमा फरक फरक घरमा बस्ने मानिसहरुको इन्डोर जमघटमा प्रतिवन्ध छ । फरक घरका ६ जनासम्मको समुहमा पार्क, समुन्द्री किनारा लगायतका ठाउँमा भेट्ने छुट छ ।
बार, पब, रेष्टुरेन्ट, क्याफे लगायतका हस्पिटालिटी व्यवसाय बन्द रहनेछन् । टेकवे र डेलिभरी सेवा भने सुचारु राख्न पाइनेछ । पसल, जिमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय खुला रहनेछन् । तर सिनेमासहितका इन्डोर मनोरञ्जनहरु बन्द रहनेछन् ।
खेल इभेन्टहरु प्रत्यक्ष हेर्न दर्शक स्टेडियमसम्म प्रतिवन्ध गरिएको छ । अति उच्च जोखिममा रहेका क्षेत्रहरुमा बाहिरबाट आउने र त्यहाँबाट बाहिर जाने यात्राहरु पनि नगर्न आव्हान गरिएको छ ।
पछिल्लो सातामा लण्डनका केहि क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण ७० प्रतिशतसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ । क्रिसमसका अवसरमा ५ दिनसम्म प्रतिवन्ध फुकुवा गर्ने घोषणा भइसकेको अवस्थामा संक्रमण झन् बढ्ने चिन्ता थपिएको छ ।